काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले कार्यभार सम्हालेको पहिलो वर्षमा देश डुब्न लागेको भन्ने भाष्य चिर्न सफल भएको जिकिर गरेका छन्।
शुक्रबार चरिकोटमा दोलखा महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस्तो जिकिर गरेका हुन्।
आफू प्रधानमन्त्री बन्दा अवस्था भयावह रहेको र त्यो अवस्थाबाट देशलाई सकारात्मक बिन्दुमा ल्याएको उनको दाबी थियो।
‘म प्रधानमन्त्री बन्दा विदेशी मुद्रा संचिति ३ महिनालाई पुग्ने थिएन, चारैतिर निराशामात्रै थियो,’ उनले भने, ‘यो देश अब फेरि उभो लाग्दैन भन्ने भाष्य थियो, त्यही प्रचार भइरहेको थियो, त्यो भाष्य चिर्न सफल भएको छु।’ अर्थतन्त्र सुधार भइरहेकाले अब आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्योगी पलायन गराउने गरी विद्युत् धमाधम काटिएको भन्दै विद्युत् महसुलका लागि न्यायिक आयोग बनाएर तत्काल समाधान गर्न आग्रह गरेका थिए।
दोलखा उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारबाट १० दिनसम्म स्थानीय भीमेश्वर रंगशालामा महोत्सव चल्ने छ।
