पोखरा- पोखरामा जारी २५औं पोखरा सडक महोत्सवमा तेस्रो दिन डुंगा खियाउने प्रतियोगिता सम्पन्न भएको छ। रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपाल (रेवान)को आयोजनामा भएको प्रतियोगिताको खुल्ला तर्फको प्रतिस्पर्धामा स्विमङपुल घाट ए विजयी भयो भने गौरीघाट, बाराहीघाट क्रमशः दोश्रो र तेस्रो भए।
विजयी टोलीले २० हजार नगद पुरस्कार जित्यो भने दोश्रो १० हजार र तेस्रो हुनेले ५ हजार नगद पुरस्कार प्राप्त गरे। यसैगरी संस्थागत तर्फको प्रतिष्पर्धामा टान गण्डकी प्रथम भयो भने रेवान पोखरा दोश्रो हुँदा नेपाल टुरिजम भ्यान एशोसिएसनले तेस्रो स्थान हासिल गर्यो।
उनीहरुलाई रेवान पोखराका पूर्व अध्यक्ष गणेश बहादुर भट्टराई, पोखरा महानगरपालिका वडा नम्बर ६ का पूर्व अध्यक्ष हरि पहारी तथा कार्यक्रम संयोजक विरेन्द्र लामा लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।
यस्तै वेटर रेसमा बेन्जन रेष्टुरेन्टका रेशम बहादुर अर्याल प्रथम हुँदा चिल्ली बारका सुनिल गुरुङ दोश्रो भए भने बेन्जनकै सौरण ठकुरीले तेस्रो स्थान हासिल गरे। उनीहरुले क्रमशः १० हजार, ७ हजार तथा ५ हजार नगद पुरस्कार हात पारे।
वेटेर्स तर्फ बेन्जनकै मोनिका नेपाली र माया घले प्रथम र दोश्रो हुँदा बेलिफकी रश्मी तिहारी तेस्रो भइन्। उनीहरुले क्रमशः ७,५ तथा ३ हजार नगत पुरस्कार जिते। उनीहरुलाई आयोजक कोकाकोला कम्पनीका प्रतिनिधि र रेवान खराका पूर्व अध्यक्ष बलराम पहारी लगायतकाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे।
सडकमै खाऔं सडकमै रमाऔं भन्ने नारासहितको यो महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकको उत्साहजनक सहभागिता रहेको छ।














–नेपाल फोटो लाइब्रेरी


