काठमाडौँ- काठमाडौँमा एक पुरुषलाई अपहरण गरेर बैंक खाताबाट रकम निकालेको आरोपमा चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरू पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौँ बसपार्क बस्ने ४२ वर्षीय तेजमान तामाङ, शंखरापुर थली बस्ने ३२ वर्षीय कर्मा छेवाङ थिङ, माकलवारी बस्ने २६ वर्षीय सौगात तामाङ र थली बस्ने ३८ वर्षीय सम्राट भन्ने वीरे तामाङ छन्। उनीहरू चारै जना शनिबार पक्राउ परेका हुन्।
मंसिर १० गते दिउँसो ३ बजे काठमाडौं महानगरपालिका-८ चाबहिलबाट हिस्सीथाया तामाङलाई उनीहरूले अपहरण गरेका थिए। उनलाई ट्याक्सीमा हालेर नजिकैको एक जंगलमा हुँदै गागलफेदीस्थित एक होटलमा पुर्याएका थिए।
भोलिपल्टै हिस्सीथायाको खाताबाट १३ लाख ५० हजार रुपैयाँ झिकेपछि छाडिएको प्रहरीको भनाइ छ। अपहरणकारीको पञ्जाबाट छुटेपछि हिस्सीथाया प्रहरी परिसरमा पुगेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


