काठमाडौँ- गुरुङ जातिले तमु ल्होसार पर्व मनाएका छन्। पर्वका अवसरमा टुँडिखेलमा तमू ल्होसार महोत्सव २०८० को आयोजना गरिएको थियो। तमु गुरुङले ल्होसारलाई नयाँ वर्षका रूपमा मनाउने गर्दछन्। गुरुङ समुदायले पुरानो वर्ष (बिरोलो वर्ग) लाई बिदाइ गरी नयाँ वर्ष (गरुड वर्ष) लाई स्वागत गरेका छन्।
महोत्सव मूल समारोह संयोजक लोकबहादुर गुरुङले तमु समुदायले उठाएका विषयवस्तुलाई प्रधानमन्त्रीबाट सकारात्मक रुपमा ग्रहण गरी सम्बोधन गर्ने प्रतिबद्धता जनाएकामा धन्यवाद ज्ञापन गरेका थिए।
महोत्सवका अवसरमा लामा गुरुद्वारा शान्ति स्वस्ती पाठका साथै तमु समुदायभित्रका विभिन्न १२ समुदायबाट नव वर्षका उपलक्ष्यमा उपलब्ध १२ वटा बेलुन समेत उडाइएको थियो।
गुरुङ समुदायबाट समाजका विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने सहरी विकासमन्त्री सीता गुरुङ, सहसचिव मीना गुरुङ, खेलाडी एरिका गुरुङ र नीतु गुरुङ तथा डा निरबहादुर गुरुङलगायतलाई सम्मान गरिएको थियो।
महोत्सवका अवसरमा गुरुङ समुदायको भेषभूषा, संस्कार र सँस्कृति झल्कने झाँकी प्रस्तुत गरिएको थियो। गुरुङ समुदायले प्रयोग गर्ने ऐतिहासिक मौलिक घर, कृषि कर्म गर्दा प्रयोग गरिने हलो, जुवा, कोदालो, हँसिया, ढाँकी, आफन्त भेट्न जाँदा पेरुङमा हालेर लैजाने कुखुराका भालेसहितका विभिन्न सामग्री समेत त्यस अवसरमा प्रदर्शनी गरियो।
महोत्सवका अवसरमा तमू समुदायले चाडबाडमा प्रयोग गर्ने खानेकुराका स्वाद चाक्न खरिद–बिक्री कक्षको व्यवस्था गरिएको छ। कार्यक्रममा तमू समुदायको साँस्कृतिक पहिचान झल्कने कौरा, घाटु, मारुनी, झयाउरे तथा चुट्का नृत्यसहित गीत संगीत प्रस्तुत गरिएको थियो।


















