काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई जनाको ज्यान जाने गरी शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटना बाहिर देखिए जस्तो मात्र नभएको जिकिर गरेका छन्।
मेलमिलाप दिवसको अवसरमा सोमबार नेपाली कांग्रेसले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।
‘दुई जना युवाको जस्तो परिवेशमा जसरी हत्या भएको छ, ईपीएसमा जे जस्ता गतिविधि भएका छन्, गाडी जलाउने जस्तो जस्तो गतिविधि भएको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘चिज यस्तो छैन, जस्तो देखिएको छ। यो भित्र अर्कै केही छ भन्ने अनुभूत गरेको छु।’
पूर्वनिर्धारित कार्यक्रममा दोलखा पुगेर फर्किने क्रममा आफूले घटना थाहा पाएको र भोलिपल्टै आफूले ब्रिफिङ लिएर गर्न सक्ने जति सबै काम गरेको दाबीसमेत गरे।
जनतालाई निराशा बाँड्नेहरु राष्ट्रवादी हुन नसक्ने भन्दै प्रचण्डले गरेका राम्रा काम स्थापित गरेर आशाको सञ्चार गर्नुपर्ने बताएका थिए।
‘राम्रो कामको ओनरसिप लिन डराउन पनि भएन’, उनले भने, ‘प्रचण्ड, सानो पार्टीको नेता। केके कताकताबाट मिलाएर प्रधानमन्त्री भयो भनेर कांग्रेसले सरकारले गरेका राम्रा कामको स्वामित्व दिन डराइदिन भएन।’
