काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पंकज जोशीलाई दोषी ठहर गरेको छ। विशेषका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले जोशीलाई दोषी ठहर गरेको हो।
जोशीको सजाय निर्धारणका लागि पुस २५ गते अर्को पेसी तोकिएको छ। उक्त पेसीले जोशीले कटाउनुपर्ने जेल सजाय र तिर्नुपर्ने जरिमानाका विषयमा निर्धारण गर्नेछ। सम्पत्ति शुद्धीकरणका मुद्दामा दोषी ठहर भए कम्तीमा दुई वर्ष कैद सजाय हुने व्यवस्था छ।
अमेरिकी सरकारको सूचनाको आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जोशीमाथि अनुसन्धान गरेको थियो। अमेरिकाको न्याय मन्त्रालयले विभागलाई २००९ को अक्टुबर ३० मा पत्राचार गर्दै जालसाझी गरेर रकम नेपालमा पठाएको थियो। सोही आधारमा विभागले जोशीमाथि छानबिन गरेको थियो।
जोशीले अमेरिकामा जालसाजी गरेर आर्जन गरेको रकम जेपी मोर्गन चेज बैंकबाट बैंक अफ काठमाडौंमा ट्रान्सफर गरेका थिए। जोशीले २ लाख ९० हजार अमेरिकी डलर रकम ट्रान्सफर गरेका थिए। सम्पत्ति शुद्धीकरण अनुसन्धान ऐन को दफा ३० को व्यवस्था उल्लंघन गरेको देखिएको भन्दै २०७७ चैत १३ गते अदालतमा मुद्दा दायर गरेको थियो।
विभागले डलर बरारको नेपाली रुपैयाँ र त्यसमा थपिएको ब्याजसमेत जोड्दै २ करोड ८ लाख ८३ हजार २४२ रुपैयाँ बिगो कायम गर्दै सोही बराबरको जरिवाना र कैद सजाय माग गर्दै मुद्दा दायर गरेको थियो।
