काठमाडौँ- काठमाडौँ महानगरपालिकाले बालाजु औद्योगिक क्षेत्रमा वारुण यन्त्र शाखा कार्यालय भवन निर्माण गर्ने भएको छ। विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापा, वडा नं. १६ का कार्यवाहक अध्यक्ष पुष्प महर्जनसहित समितिका सदस्यहरुले शिलान्यास पूजा गरेका हुन्।
गत वर्ष मंसिर २६ गते २८ औँ महानगर दिवसको अवसर पारेर काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले उद्योग व्यवस्थापन कार्यालय परिसरमा दमकल सेवा शुभारम्भ गरेका थिए। यही कार्यालय परिसर (औद्योगिक क्षेत्र प्रवेश मूल द्वारसँगै) शिलान्यास गरिएको हो।
भवनको लागत अनुमान ४ करोड ७९ लाख ८९ हजार ६८५ रुपैयाँ गरिएको थियो। बोलपत्रबाट ४ करोड ३० लाख ९० हजार रुपैयाँ कबोल गर्ने सबिरा मंगलुग्मा जेभीले निर्माणको जिम्मा पाएको छ।
‘महानगरपालिका क्षेत्रभित्रका विपदजन्य जोखिममध्ये आगोबाट हुने जनधनको क्षति ठूलो छ। यसलाई व्यवस्थापन गर्न महानगरपालिकाले बारुण यन्त्र कार्यालयलाई विस्तार गरेर सेवालाई सम्भावित जोखिमको नजिक स्थानमा पुर्याउँदै लगेको छ,’ विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापाले शिलान्यास अवसरमा भने, ‘यसअघि वडा नं. ६ को रामहिटीमा भवन निर्माण भइसकेको छ । अहिले बालाजुमा निर्माण कार्यको थालनी गर्यौँ। यो सेवा विस्तारित हुने चरणमा छ। महानगरपालिकाले योजनावद्ध रुपमा जोखिम न्यूनीकरण र व्यवस्थापनको काम गरिरहेको छ।’
भवन डिजाइन गर्ने इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार भूकम्प प्रतिरोधी निर्माण शैली र विधि अबलम्बन गरेर बनाइने भवन, अगाडि सडकबाट ३ तला देखिनेछ। पछाडिबाट ५ तलाको हुनेछ। ६ हजार ६६५.९० बर्गफुट क्षेत्रफलमा निर्माण हुने भवनको जमिन तला १ हजार ३३२ बर्गफुटको हुनेछ।
भवनको बाहिरी मोहडामा परम्परागत नेपाली शैलीको महानगरपालिकाका अन्य भवनसँग स्व?प मिल्ने निर्माण शैली र सामग्रीको प्रयोग गरिनेछ। भित्री भाग आधुनिक शैलीको हुनेछ।
भवनबाट तत्काल बाहिर निस्कन सक्ने गरी ठूला २ वटा दमकल र एउटा पानीको ट्याङ्कर राख्ने ठाउँ हुनेछ।
जमिन मुनि र माथि छतमा गरि १ लाख लिटरको पानी ट्याङ्की रहनेछ छन्। भवनको माथिल्लो तलामा विपद ब्यबस्थापन र सुरक्षाका लागि खटिने जनशक्तिका लागि खेल्ने, योग गर्ने, जिम गर्ने इनडोर स्पोर्टस हल हुनेछ।
पहिलो र दोस्रो तलामा सुरक्षाकर्मीका लागि आवास सहितको बस्ने कोठा, भान्साकोठा र आधुनिक शौचालय हुनेछ। जमिन तलामा दमकल मर्मत कक्ष र सुरक्षासम्बन्धी सरसामान राख्ने कोठा हुनेछन्।
अग्नि नियन्त्रकहरु कार्यालयको भुइँ तलामा बस्नेछन्। शाखा कार्यालयका प्रमुख शम्भु विष्टका अनुसार स्टेशनमा २ वटा दमकल र २ वटा फायर बाइक राखिनेछन्।
