काठमाडौँ- सन्तोषजनक काम नगरेका ९ वटा निर्माण कम्पनीहरु कालोसूचीको प्रक्रियामा रहेका छन्। पछिल्लो समय ७ दिने स्पष्टीकरण माग गरिएको छ। विभिन्न सार्वजनिक निकायहरुबाट कालोसूचीमा राखिदिन सिफारिस भएपछि सुरुमा ३० दिनको मौका दिएर स्पष्टीकरण माग गरिएको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएका थप ९ वटा निर्माण कम्पनीहरुलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको हो।
स्पष्टीकरण मागिएकाहरुमा हरिदेव पाण्डे मुख्य व्यक्ति रहेको पुष्पाञ्जली कन्स्ट्रक्सन एण्ड सप्लायर्स काठमाडौं, वेगेन्द्रजंग वर्मशाखा मुख्य व्यक्ति रहेको न्यू भेरी इन्जिनियरिङ वर्कसप सुर्खेत लगायत छन्।
यसैगरी नेपाल विद्युत प्राधिकरणले कालोसूचीमा राख्न गरेको सिफारिसको आधारमा आराभाली इन्प्रपावर इण्डियालाई पनि सात दिने स्पष्टीकरण सोधिएको छ। यो कम्पनीको मुख्य व्यक्ति नयाँदिल्लीका राकेश जोली हुन् भने नेपालमा कम्पनीको आधिकारिक व्यक्ति भुषण थापा छन्।
प्रेमकृष्ण श्रेष्ठ मुख्य व्यक्ति रहेको प्रनिश इन्टरनेशनल प्रालि काठमाडौँ र श्यामबहादुर जर्गामगर मुख्य व्यक्ति रहेको कोशी निर्माण सेवा काठमाडौँसँग पनि सात दिने स्पष्टीकरण माग गरिएको छ।
सडक विभागको सडक सुधार तथा विकास आयोजना निर्देशनालयको सिफारिसमा जगदिशचन्द्र अग्रवाल मुख्य व्यक्ति रहेको दिनेशचन्द्र आर. अग्रवाल इन्फ्राकोन प्राइभेट लिमिटेड र जेभी शंकरमाली निर्माण सेवासँग पनि स्पष्टीकरण माग गरिएको छ।
राजकुमार रावत मुख्य व्यक्ति भएको मामा भान्जा निर्माण सेवा उदयपुर, दशरथ वाइवा मुख्य व्यक्ति भएको सत्यस्वरी कन्स्ट्रक्सन प्रालि काठमाडौँ र प्रेम प्रसाद अधिकारी मुख्य व्यक्ति भएको पाँचखाल कन्सट्रक्सन प्रालि नयाँबानेश्वर काठमाडौँसँग पनि स्पष्टीकरण सोधिएको छ।


