काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन्। विदेशमन्त्री एस जयशंकरले बिहिवार विहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँंग शिष्टाचार भेटवार्ता गरेका हुन्।
नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर बिहीबार बिहान काठमाडौं आएका थिए। भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टिभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य र सहयोग आवश्यक रहेकोमा जोड दिए।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भिरतापूर्वक काम गर्न जरुरी रहेकोमा जोड दिएका थियो। उनले कृषि, उर्जा शक्ति, पर्यटनको विकास र मानव संसाधन विकास नेपालका प्राथमिकतामा भएको र यसमा सहकार्यका लागि आग्रह गरेका थिए।
भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालका सम्भावनाप्रति भारत जानकार रहेको बताउँदै सबै क्षेत्रहरूमा भारतको निरन्तर सहयोग रहने उल्लेख गरे।
