काठमाडौँ- तराईमा हुस्सु र हिमाली क्षेत्रमा हिमपातका कारण देशभरको तापक्रम घटने क्रम जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ।
पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसैगरी, राति कोशी र मधेस प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।


