काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग अढाई करोड घुस रकम माग गरेको प्रकरणमा अर्को पनि अडियो टेप सार्वजनिक भएको छ। मन्त्री बन्नका लागि पार्टीलाई दिनुपर्ने भन्दै आइतबार प्रसाईंसँग अढाई करोड घुस रकम माग गरेको अडियो सार्वजनिक भएलगत्तै सोमबार अर्को पनि अडियो सार्वजनिक भएको हो। दुवै अडिओ कपुरबोट टिभीले सार्वजनिक गरेको हो।
आफूलाई ढाकाको भाइ बताउने व्यक्तिले ९८६०००..४६ नम्बरको मोबाइलबाट कुराकानी गरी ढाकाको पक्षमा बोलिदिन आग्रह गरेको सुन्न सकिन्छ। ढाकाका भाइ भन्ने व्यक्तिले दुर्गा र उनको टिमका यदु गौतमलाई फोन गरी ढाकाले सांसद पद र पार्टीको जिम्मेवारी दुवै गुमाउने भन्दै कुराकानी गरेका थिए। ढाकाले गौतमलाई फोन गरी प्रसाईले आफ्नो पक्षमा केही बोलिदिए आफूलाई सहिजो हुने भाव व्यक्त गरेको उक्त अडिओमा सुनिन्छ।
सोमबार सार्वजनिक अडियोमा दुर्गा प्रसाईले मन्त्री बन्नका लागि रकम माग गर्नु ढाकाको गल्ती नभएको बरु पार्टी/पार्टी सभापति रवि लामिछानेको गल्ती भएको भनेर बताएको सुन्न सकिन्छ। ढाकाका तर्फबाट प्रसाईलाई फोन गर्ने व्यक्तिले ढाकाले दुर्गालाई भेट गर्न चाहेको बताएका छन्।
आइतबार ढाकाले दुर्गासँग अढाई करोड घुस दिनका लागि रकम माग गरेको अडिओ सार्वजनिक भएपछि रास्वपाले ढाकालाई ७२ घन्टे स्पष्टीकरण सोधेको छ। सोमबार राति उनले स्पष्टीकरण बुझाएका छन्। ढाकाको स्पष्टीकरणमा अडिओमा भएको आवाज आफ्नो नभएको दाबी गरेको बताइएको छ।
उता रास्वपा सभापति रवि लामिछानेले आइतबार बाराको गढीमाई मन्दिर नजिकैको चुनावी सभालाई सम्बोधन गर्दै आफूले ७२ घण्टाभित्र छानबिन गर्न निर्देशन दिएको र दुई घण्टा बितेकाले ७० घण्टाभित्रै छानबिन सक्ने बताएका थिए। छानबिन नभए आफूलाई गढीमाईमा नै बली चढाउनसमेत भनेका थिए।
सोमबार सार्वजनिक भएको अडियो
आइतबार सार्वजनिक भएको अडियो


