चितवन- भरतपुर महानगरपालिका-१२ स्थित मिलनचोकमा मंसिर पहिलो साता बोराभित्र फ्याँकिएको दुई वटा शवको पहिचान खुलेको छ। प्रहरी स्रोतका अनुसार मंसिर ६ गते मारेर फ्याँकिएका दुवै जना भारत विहारका हुन्।
अनुसन्धानमा संलग्न अधिकारीका अनुसार विवाहेतर सम्बन्धका कारण उक्त घटना भएको हुन सक्ने आशंका छ। पत्नीको अर्कैसँग सम्बन्ध रहेको थाहा पाएपछि पतिले पत्नी र ब्वाईफ्रेन्डको हत्या गरेको हुन सक्ने देखिएको प्रहरीको भनाइ छ।
हत्याको आरोपित पति भने भारतमा अर्को हत्यामा पनि संलग्न बताइएको छ। प्रहरीले मारिएका र संलग्नको विवरण सार्वजनिक गर्ने तयारी भइरहेको बताएको छ।
दुई जनाको शव हातखुट्टा डोरीले बाँधेर बोराभित्र हाली कल्भर्टमुनि फ्याँकिएको अवस्थामा भेटिएको थियो। प्रहरीले लामो समयसम्म मृतकको पहिचान गर्न नसकेपछि हुलिया र स्केच सार्वजनिक गरेको थियो।

भारतीय नागरिकको हत्या भारतीयले नै गरेको पाइएको हो। भारत मोतिहारीका उनीहरु चितवनको भरतपुरमा व्यापार गरेर बस्ने गरेका थिए। अनुसन्धानको क्रममा शवको ३ हप्ता अघि नै पहिचान खुलेको र हत्यामा संलग्न व्यक्ति भारतमै अर्को एक हत्यामा संलग्न भएको पाइएको चितवन प्रहरीले जनाएको छ।
उनी भारत प्रहरीकै नियन्त्रणमा रहेकाले नेपाल ल्याउन नमिलेको प्रहरीको भनाइ छ। हत्यामा संलग्न व्यक्तिसँग बयान लिन नेपाल प्रहरीको एक टोली भारतको बिहार नै पुगेको थियो। यस विषयमा प्रहरीले विस्तृत विवरण सार्वजनिक गर्न बाँकी छ।


