काठमाडौँ- एउटा बालक आमाको गर्भमा आएपछि आमालाई मासु खान मन लागेन। पछि बालकले पनि माछामासु केही खाएनन्। सानै देखि ध्यानमा लिप्त भए। ध्यान बस्दाबस्दा सन् २००५ मा चर्चामा आए। यि हुन ‘लिटल बुद्ध’ भनेर चिनिने रामबहादुर बमजन ।
यौन हिंसा, हत्या र मानिस बेपात्ता लगायतका विभिन्न आरोप लागेका बमजनलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले मंगलबार उनलाई पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ।
विभिन्न आरोपमा बमजनलाई ७७ वटै जिल्लाका प्रहरीलाई सजग गराई केही वर्षयता खोजी गरिँदै आएको थियो। सीआईबीका प्रवक्ता नवराज अधिकारीलेभने, ‘आश्रममा बस्दा त्यहाँ काम गर्ने विभिन्न युवतीलाई शोषण गरेको, बेपत्ता गराएको लगायतका आरोप छन्। धेरै ठाउँबाट जाहेरी परेकाले प्रहरीले आज त्यसलाई एकीकृत पार्ने काम गरिरहेको छ।’
बाराको जंगलमा ध्यानमा बसेका उनलाई धेरैले पछ्याउन थाले। देश भित्र मात्र होइन देश बाहिर पनि उनले धेरै अनुयायी बनाइसकेका थिए। बारा, सिन्धुपाल्चोक लमजुङ र सर्लाही जिल्लामा समेत उनका आश्रम थिए।
५ वर्षअघि नै सिन्धुपाल्चोकस्थित उनको आश्रममा गएका अनुयायीहरू त्यहाँबाट नफर्किएका भन्ने विवरणसहित विभिन्न जिल्ला प्रहरी कार्यालयमा परेका मुद्दामा प्रहरीले छानबिन थालेको थियो।
बम्जनले अनुयायी बेपत्ता पारेको भन्दै पहिलो पटक १२ पुस २०७५ मा जिल्ला प्रहरी कार्यालय, बारामा उजुरी परेको थियो । उजुरी पर्नुभन्दा ३ वर्षअघि बम्जनका विश्वास पात्र जसबहादुर वाइवाले जितपुर सिमरा–१८, बडहर्वाका ३४ वर्षीय सुरेशकुमार आले मगरलाई लिएर गएको परिवारका सदस्यहरुको भनाइ थियो ।
तर, त्यसयता उनी सम्पर्कविहीन रहेको परिवारले दाबी गरेको थियो । बम्जनमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग छ ।
‘जाहेरी विवरण जुटाउने काम भइरहेको छ। जहाँ जहाँबाट जाहेरी परेको छ त्यहीँबाट कानुनी प्रक्रिया बमोजिम मुद्दा चल्नेछ,’ प्रवक्ता अधिकारीले भने।
सोह्र वर्षीय बमजनले जङ्गलमा ध्यान गर्न सुरु गरेका थिए। त्यसयताका वर्षमा उनी विभिन्न विवादमा जोडिन थाले।
२०७१ साल चैत १४ गतेदेखि सम्पर्कविहीन भएका वाइबाका परिवारका तर्फबाट किटानी जाहेरी परेपछि प्रहरीले बमजनको आश्रममा अनुसन्धान सुरु गरेको थियो।
तर सर्लाही जिल्ला अदालतले उनीविरुद्ध परेका अभियोगबारे अनुसन्धान अघि बढाउन बमजनलाई पक्राउ गर्न अनुमति दिएपछि उनको खोजतलास तीव्र पारिएको थियो।


