काठमाडौँ- त्रिशूलीमा गाडी खसेको सूचना पाएपछि गोताखरको टोलीले खोजी कार्य जारी राखेको छ। मुग्लिन प्रहरीका अनुसार सोमबार विहान सवा ४ बजेतिर स्थानीयले सूचना दिएका हुन्।
नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ५ को ३ नम्बर पुल नजिकबाट त्रिशूली नदीमा ‘गाडी खसेको’ सूचना आएको प्रहरीले जनाएको छ।
गाडी खसेको सूचना आए पनि उक्त गाडी कहाँबाट कहाँ जाँदै थियो, कस्तो प्रकारको गाडी हो भन्ने केही खुलेको छैन। मुग्लिन प्रहरीका इन्सपेक्टर विशाल तामाङले भने, ‘पानीमा बत्ती बलेको पनि देखिएको थियो। अहिले चाहिँ बत्ती निभेको छ। तर गाडी कस्तो खालको हो, कत्रो हो, कहाँ जाँदै थियो भन्ने केही खुलेको छैन।’
नदी किनारमा एउटा फलामको टुक्रा र भारतीय नम्बर प्लेट भेटिए पनि त्यो अहिलेको हो वा पुरानो हो भन्ने नखुलेको प्रहरीको भनाइ छ।


