काठमाडौं- कार्टुनिस्ट रवि मिश्रले एकल कार्टुन प्रदर्शनी गर्ने भएका छन्। उनले बिहीबारबाट नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उजोमा क्याफेमा कार्टनु पदर्शनी गर्न लागेका हुन्। कार्टुनिस्ट मिश्रले यो प्रदर्शनीलाई ‘डिपेक्सन’ नाम दिएका छन्। प्रदर्शनी १० सम्म चल्ने मिश्रले जानकारी दिए।
नयाँ पत्रिकामा कार्यरत मिश्रले १७ वर्षदेखि विभिन्न अखबार तथा म्यागेजिनमा करिब तीन हजार कार्टुन प्रकाशित गरिसकेका छन्। उनका अनुसार पत्रपत्रिकामा प्रकाशित भएका विभिन्न कार्टुनमध्ये केही यस प्रदर्शनीमा राखिनेछन्।
‘पत्रिकाको माध्यमबाट एकोहोरो संवाद गरिरहेको म यो प्रदर्शनीमार्फत दोहोरो संवाद गर्न खोज्दै छु। कार्टुन एकातर्फी सञ्चार मात्र होइन, संवाद पनि हो भन्ने मेरो विश्वास छ,’ मिश्रले भने, ‘वास्तविकतालाई रचनात्मक तवरमा चित्रण गर्ने विधि हो कार्टुन। मेरा लागि कार्टुन समाजसँग अन्तर्क्रिया गर्ने माध्यम हो। अन्तर्क्रिया मजेदार होस् भनेरै म कार्टुन लिएर यहाँ आएको छु। वर्तमानमा मैले देखेको समाजको दृश्य कोर्छु कार्टुनमा। वर्तमानका कतिपय घटना, परिवेश, पात्र, प्रवृत्ति र विचारसँगको असहमति पनि हुन् मैले बनाउने कार्टुन।’
उनले यो प्रदर्शनी कार्टुनका लागि नयाँ जमिनको खोजीकारुपमा अर्थ्याएका छन्। मिश्र ‘कार्टुनिस्ट क्लब अफ नेपाल’ का महासचिवसमेत हुन्। व्यंग्यचित्रसँगै उनी व्यंग्य लेखनसमेत गर्ने गर्छन्।


