काठमाडौँ- पश्चिमी वायुको प्रभावका कारण अहिले देशैभरको मौसममा सामान्यदेखि आंशिक बदली भएको छ। जसका कारण देशका उच्च पहाडी भूभागमा हिमपातका साथै तराईमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना र तराईका अधिकांश स्थानहरूमा हुस्सुकुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
बुधबार दिउसो कोशी, बागमती ,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती , गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
