काठमाडौँ- मंगलबार एका विहानै मुग्लिन प्रहरीलाई त्रिसुलीमा सवारी साधन खसेको सूचना प्राप्त हुन्छ। सूचना प्राप्त भएपछि चितवन प्रहरीले खोज तलास गर्छ र भारतीय नम्बर प्लेटको गाडी भेटाउँछ । बोलेरो गाडी भेटाए पनि मानिस भेटाउन सकिएको छैन।
नारायणगढ मुग्लिन सडक खण्डको ३ नम्बर पुलमा यो घटना भएको हो। नारायणगढदेखि मुग्लिनसम्मको बाटोको गुणस्तरमा सुधार भएको छ। गुणस्तरमा सुधार भए पनि दुर्घटना रोकिन भने सकेको छैन्।
तीन ठूला राजमार्गसँग जोडिएको चितवनमा ट्राफिक चाप बढी रहेको छ। ट्राफिक चाप बढी भए पनि सडक सुरक्षा जनचेतना नहुँदा पनि दैनिक दुर्घटनाको दरमा वृद्धि हुने गरेको विज्ञहरुको भनाइ छ।
पछिल्ला साढे ४ वर्षमा चितवनको उक्त क्षेत्रमा १ हजार ७०४ वटा सडक दुर्घटना भएको प्रहरीको भनाइ छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनाका कारण ५०४ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा दुर्घटनाकै कारण तीन हजार ७६ जना घाइते भएका छन् ।
पृथ्वी राजमार्ग, नारायणगढ–मुग्लिङ सडक र पूर्व–पश्चिम राजमार्गसँग जोडिएको चितवनमा हुलाकी सडक र भित्री सडकमा पनि उत्तिकै दुर्घटना हुँदै आएको छ।
दुर्घटनाका कारणबारे खासै अध्ययन भएको पाइँदैन। ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी निरीक्षक सुरेश सुवेदीले मंगलबार विहान भएको दुर्घटना चालकले भेउ नपाउँदा भएको हुन सक्ने अनुमान गरेका छन्। “भौगोलिक ज्ञान नभएका कारण पनि यस सडक खण्डमा दुर्घटना हुने गरेको छ,” उनले भए।
कतिपय दुर्घटना सडककै कारण पनि हुने गरेको देखिन्छ। गाडीलाई उछिन्दा पनि प्रशस्तै दुर्घटना भएका छन्। चालक निद्रामा रहनु वा सहचालकलाई चलाउन दिनु पनि दुर्घटनाका कारकका रूपमा लिइएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले सडकसँगै दुर्त गति र चालकको लापरबाही दुर्घटनाका कारण हुन सक्ने बताए। हुस्सुका कारण पनि सडक सजिलै नदेखिँदा दुर्घटना हुने गरेको ट्राफिकहरू बताउँछन्।
