काठमाडौँ- कार्टुनिस्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ।
नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएका छन्।
‘डिपिक्सन’ नाम दिईएको प्रदर्शनीमा मिश्रका ३५ वटा कार्टुन राखिएका छन्।
१७ वर्षदेखि कार्टुन बनाईरहेका मिश्रले ३ हजार भन्दा धेरै कार्टुन बनाइसकेका छन्।
कार्टुनलाई समाजसँग अन्तर्क्रिया गर्ने सशक्त माध्यमका रुपमा लिएका मिश्रले समाजमा आफूले देखेका दृश्य कार्टुनमा उतार्ने गरेको बताए।
‘वर्तमानमा मैले देखेको समाजको दृश्य कोर्छु कार्टुनमा। यो प्रदर्शनी मैले देखेको समाजको चित्र हो,’ उनले भने।
प्रदर्शनीमा मिश्रले पछिल्लो ५ वर्षमा बनाएका कार्टुन राखिएका छन्। सामाजिक, राजनीतिक घटनाक्रममाथि व्यंग्य कसिएका कार्टुनलाई एकतर्फी सञ्चार मात्र नभई संवादका रुपमा स्थापित गर्न कार्टुन प्रदर्शनी गरिएको मिश्रले बताए।
‘कर्नर किक’ शीर्षकमा मिश्रका कार्टुन नयाँ पत्रिकामा प्रकाशित हुने गरेका छन्। कार्टुनलाई अखबारका पन्नाबाट प्रदर्शनीसम्म ल्याईपुर्याएका मिश्र कार्टुनिस्ट क्लब अफ नेपालका महासचिवसमेत हुन्।














