काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रेस सल्लाहकारमा पत्रकार गोविन्द आचार्य नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त गरेको हो।
विसं २०५० देखि पत्रकारितामा क्रियाशील आचार्य नेपाल पत्रकार महासङ्घको पूर्वअध्यक्ष तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष थिए। जनादेश साप्ताहिकको सम्पादक र जनदिशा राष्ट्रिय दैनिकमा प्रधानसम्पादक भएर काम गरेको अनुभव आचार्यसँग छ।
क्रान्तिकारी पत्रकारको नेतृत्व गर्दै आएका आचार्य प्रेस सेन्टर नेपालको संस्थापक सदस्य हुन्। माण्डवी गाउँपलिका प्यूठानमा जन्मिएका आचार्य क्रान्तिकारी पत्रकार सङ्घको पूर्वसंयोजकसमेत थिए। उनी कानुनका स्नातक हुन्।
प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल छन्। प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा सन्तकुमार दरै छन्। प्रधानमन्त्रीको स्वकीय सचिवमा भने रमेश मल्ल र गंगा दाहाल छन्। उनीहरु यसअघि पनि खुमलटारमा प्रचण्डको स्वकीय सचिवका रुपमा कार्यरत थिए। मल्ल र दाहाल माओवादी केन्द्रको केन्द्रीय सदस्य हुन्।
स्वकीय सहसचिवमा सूर्यकिरण शर्मा, मनहरि तिमिल्सिना, गोर्कण भट्ट र शिव खकुरेल छन्। शर्माले प्रेस संयोजक र तिमिल्सिनाले प्रेस विज्ञको जिम्मेवारी पाएका छन्। प्रधानमन्त्रीको फोटो पत्रकारको जिम्मेवारी राससका प्रदीपराज वन्तलाई दिइएको छ।


