काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो दलका सांसद ढाकाकुमार श्रेष्ठलाई दलको सदस्यबाटै निष्काशन गर्ने तयारी गरेको छ। पार्टीलाई घुस दिन मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग अढाई करोड रकम डिल गरेको आरोपमा उनलाई पार्टीको सदस्यबाटै हटाउन लागिएको हो।
माघ १ गते भएको उक्त फोन संवादमा एमाले, माओवादी, रास्वपा र राप्रपासहितको गठबन्धन सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रास्वपालाई दिने निश्चित भएको र आफू मन्त्री बन्नका लागि पार्टीलाई अढाई करोड घुस दिनुपर्ने भएको भन्दै ढाकाले मेडिकल व्यवसायी प्रसाईसँग उक्त रकम माग गरेका थिए। उक्त अडियो आइतबार कपुरबोट टीभीले सार्वजनिक गरेको थियो। उक्त विषयमा छानबिन गर्न रास्वपाले बनाएको समितिले उक्त अडियो ढाकाकै भएको भन्दै पार्टीलाई प्रतिवेदन बुझाएपछि उनलाई हटाउने तयारी गरिएको हो।
अडियोमा पार्टीको ‘कोर टिम’लाई रकम बुझाउन पर्ने भनेर ढाकाले दुर्गासँग भनेका छन्। उक्त ‘कोर टिम’का विषयमा पनि समितिले ढाकासँग सोधपुछ गरेको थियो। त्यसको जवाफमा ढाकाले अहिले आफूले भन्न नसक्ने तर आफूमाथि कारबाही गरिए त्यसको पर्दाफास गर्ने चेतावनी दिएको बताइएको छ।
रास्वपाले छानबिनका लागि डा. भरतमणि देवकोटाको संयोजकत्वमा ४ सदस्यीय समिति बनाएको थियो। समितिमा रामहरि सुवेदी, रमाकान्त रिमाल र यज्ञमणि न्यौपाने सदस्य थिए। समितिले ७२ घण्टाको समयसीमा पाएपनि ५० घण्टाभित्रैप्रतिवेदन सभापति रवि लामिछाने र महामन्त्री मुकुल ढकाललाई बुझाएको छ।
ढाकाको अडियो प्रकरणका विषयमा समितिले बुझाएको प्रतिवेदनका विषयमा छलफल गर्न रास्वपाले आज ९ बजे केन्द्रीय समितिको बैठक बोलाएको छ। सोही प्रतिवेदनको निष्कर्षका आधारमा समानुपातिक सांसद ढाकालाई पार्टीको साधारण सदस्यबाट समेत हटाउन सक्ने तयारी गरेको बताइएको छ।
यसरी पार्टीले कारबाही गरे ढाकाको सांसद पद खारेज हुनेछ। रास्वपाले कारबाही गरेको निर्णय गरी ढाकालाई सांसद पदबाट हटाउन सभामुखलाई सिफारिस गर्न सक्नेछ। त्यसरी सिफारिस आएमा सभामुखले ढाकाको सांसद पद खारेज गरी त्यसको जानकारी सदनलाई गराउनुपर्ने हुन्छ।
उता ढाकाकुमार श्रेष्ठले साढे २ करोडको डिल भएको अडियो आफ्नो नभएको तर आफूलाई फसाउने षढ्यन्त्र भएको दाबी गरेका छन्। पार्टीको अनुशासन समितिले मंगलबार लिएको बयानमा अडियोमा सुनिएको आवाज आफ्नो नभएको दाबी उनको थियो।
आफूले दुर्गा प्रसाईलाई नचिनेको र उनीसँग फोन संवादसमेत नगरेकोसमेत जिकिर उनको थियो। तर ढाकाको दाबीमा छानबिन समितिले विश्वास गरेन। उक्त अडियोमा सुनिएको आवाज ढाकाकै भएको ठहर समितिको छ।
‘उहाँले अडियोमा सुनिएको आवज आफ्नो नभएको जिकिर गर्नुभएको छ, तर हामीले उहाँको बयानमा मात्रै आधारित नभएर अन्य कुरा पनि हेरेर प्रतिवेदन तयार पारेका छौं, केही बेरमा सभापति (रवि लामिछाने)लाई बुझाउँछौं,’ समितिका एक सदस्यले भने।
आइतबार ढाकाले प्रसाईसँग घुस मागेको अडियो सार्वजनिक गरेको कपुरबोट टीभीले सोमबार यही प्रकरणमा अर्को पनि अडियो सार्वजनिक गरेको थियो। सोमबार ढाकाका भाइ भनने व्यक्तिले प्रसाई र उनका सहयोग यदु गौतमलाई फोन गरी ढाकाका पक्षमा माहोल सिर्जना गर्न आग्रह गरेको अडियो सार्वजनिक भएको थियो।
आफूलाई ढाकाको भाइ बताउने व्यक्तिले ९८६०००..४६ नम्बरको मोबाइलबाट कुराकानी गरी ढाकाको पक्षमा बोलिदिन आग्रह गरेको सोमबार सार्वजनिक सुन्न सकिन्छ। ढाकाका भाइ भन्ने व्यक्तिले दुर्गा र उनको टिमका यदु गौतमसँग ढाकाले अब सांसद पद र पार्टीको जिम्मेवारी दुवै गुमाउने कुरा गरेका थिए। ढाकाका भाइले गौतमलाई फोन गरी प्रसाईले आफ्नो पक्षमा केही बोलिदिए आफूलाई सहिजो हुने भाव व्यक्त गरेका थिए।
सोमबार सार्वजनिक अडियोमा दुर्गा प्रसाईले मन्त्री बन्नका लागि रकम माग गर्नु ढाकाको गल्ती नभएको बरु पार्टी/पार्टी सभापति रवि लामिछानेको गल्ती भएको भनेर बताएका थिए। ढाकाका तर्फबाट प्रसाईलाई फोन गर्ने व्यक्तिले ढाकाले दुर्गालाई भेट गर्न चाहेको बताएका छन्।
आइतबार ढाकाले दुर्गासँग अढाई करोड घुस दिनका लागि रकम माग गरेको अडिओ सार्वजनिक भएलगत्तै रास्वपाले ढाकालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो। सोमबार साँझ ढाकाले छानबिन समितिलाई लिखित स्पष्टीकरण पनि बुझाएका थिए। मंगलबार उनको बयान लिइयो। तर उनले इन्कारी बयान दिए।
उता रास्वपा सभापति रवि लामिछानेले आइतबार बाराको गढीमाई मन्दिर नजिकैको चुनावी सभालाई सम्बोधन गर्दै आफूले ७२ घण्टाभित्र छानबिन गर्न निर्देशन दिएको र दुई घण्टा बितेकाले ७० घण्टाभित्रै छानबिन सक्ने बताएका थिए। छानबिन नभए आफूलाई गढीमाईमा नै बली चढाउनसमेत भनेका थिए।
