बैतडी- बैतडीमा जिप दुर्घटना हुँदा ६ जना यात्रुको घटनास्थलमा नै मृत्यु भएको छ। गए राति पाटन नगरपालिका-८ मा पर्ने झौलेकस्थित सडकको घुम्तीबाट खस्दा भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।
झुलाघाटबाट बझाङस्थित बाग्थला गइरहेको से १ ज ७६४ नम्बरको जिप दुर्घटनामा परेको हो। मृतक ६ जना एकै गाउँका हुन्। जिपमा सवार चार जनाले भने हामफालेर ज्यान जोगाएका छन्। उनीहरूको अवस्था सामान्य छ।
दुर्घटनामा मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका-५ बाँझगाउँका नरे बोहरा, गोरख बोहरा, मने बोहरा, वीरे धामी, बिर्ख धामी र मानबहादुर धामी छन्। जिपका चालक सम्पर्कविहीन छन्। उनको खोजी भइरहेको बैतडी प्रहरीले जानकारी दिएको छ।
