काठमाडौँ- कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै, तराईका अधिकांश स्थानहरूमा हुस्सुकुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। साथै देशको तराईका धेरै स्थानहरुमा हुस्सुकुहिरो लागेको छ।
आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


