काठमाडौँ- लगातार तापक्रम घटन थालेपछि तराईका जिल्लाहरूमा चिसो बढेको छ। चिसो र शीतलहर बढेपछि तराइका जिल्लाको जनजीवन प्रभावित भएको छ। पूर्वी तराईका बारा, पर्सा, सिराहा, सप्तरीलगायतकाे जिल्लाहरूमा चिसो सँगै शीतलहर बढेको छ।
शीतलहरका कारण गरिब, वृद्ध र दीर्घरोगी बढी प्रभावित भएका छन्। लगातार २ हप्तादेखि बढेको शीतलहरका कारण जनजीवन प्रभावित भएको हो। हाल मानिसहरू बाहिर आउन छोडेका छन भने तराईका जिल्लाहरूका बजारमा समेत चहलपहल देखिदैन।
शितलहरका कारण बाराको सिमरा बिमानस्थलबाट हुने उडानसमेत प्रभावित बनेका छन्। शीतलहरले भिजिबिलिटी कम भएपछि उडान प्रभावित भएको हो।
चिसोका कारण जिल्लाका सामुदायिक तथा निजी विद्यालयहरू बन्द छन्। जाडोमा कुनै नेताहरूले गरिब जनतालाई नहेरेको
स्थानीयको गुनासो छ।
पछिल्लो समय चिसो बढ्दै गएपछि डिभिजन वन कार्यालयले बाराका ११ र पर्साको ४ वटा स्थानीय तहमार्फत आगो ताप्न दाउरा वितरण गरेको जनाएको छ।
वन अधिकृत नेपाली साहले बाराका ११ वटा स्थानीय तहलाई ४५ चट्टा र पर्साको ४ वटा पालिकालाई ७ चट्टा दाउरा आगो ताप्नका लागि दिइएको बताएका छन्। सामान्यतया एक चट्टामा ३ देखि ४ ट्याक्टर दाउरा हुने गर्दछ।


