इलाम- ‘साउनयता दूधको भुक्तानी भएको छैन। पाउनुपर्ने रकम नपाएपछि परिवार चालाउन धौधौ भइसक्यो।’ इलाम-५ का किसान वीरबहादुर अधिकारीले गतसाउन १५ देखि दूधको पैसा नपाएको गुनासो पाेखे। उनले भने, ‘हामीले कसलाई भन्दा भुक्तानी हुने हो, थाहा छैन। हाम्रो अभिभावक नगरपालिका हो। नगरपालिकाले आवश्यक पहल गरिदिनुपर्छ।’
इलाम नगरपालिकाद्वारा आयोजित ‘इलाम नगर क्षेत्रभित्र दुग्ध क्षेत्रमा देखिएको समस्या र समाधान’ विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागीले पछिल्लो पाँच महिनादेखि दूध र दुग्धजन्य पदार्थको भुक्तानी नहुँदा समस्या भोग्नुपरेको गुनासो गरेका थिए।
बिहानदेखि रातिसम्म गाईलाई खोलेकुँडो र स्याहार गरी दूध उत्पादन गर्ने किसान आयोजनाले मूल्य नदिँदा हातमुख जोर्नै समस्या हुन थालेको गुनासो गर्दैछन्। कोरोना महामारीका कारण अन्य कृषि उत्पादनको बजारसमेत नपाएका किसान मुख्य आम्दानीका रूपमा रहेको दूधको समेत पैसा नपाएपछि चिन्तित भएका हुन्।
यहाँका किसानले दिनहुँ १ देखि बीसौं लिटर दूध स्थानीय सहकारी र संकलन केन्द्रमार्फत् सरकारी स्वामित्वको आयोजनालाई बेच्छन्। आयोजनाले जिल्लाका हजारौं किसानको फागुन, चैत, वैशाख र जेठमा बेचेको दूधको मूल्य भुक्तान गर्न बाँकी छ।
सूर्याैदय नगरपालिका-१० भालुखोपका दूध उत्पादक किसान कुमार रेग्मीले लामो समयदेखि भुक्तानी नपाउँदा किसानलाई खान–लाउनै धौधौ हुन थालिसकेको बताए। ‘दूध बेचेरै बिहान–बेलुकाको छाक टार्ने किसानलाई ४ महिनादेखि पैसा नपाउँदा के लाउँ, के खाउँ हुन थालेको छ,’ उनले भने, ‘हामीले पटक–पटक माग गर्दा पनि दूधको भुक्तानी पाउन सकेका छैनौं।’
कुमारले आफ्नो गाई फार्ममा दूध उत्पादन गर्नुका साथै स्थानीय किसानबाटसमेत संकलन गरी आयोजनालाई बिक्री गर्छन्। ‘मैले मात्रै पनि दैनिक ७ देखि ९ सय लिटरसम्म दूध आयोजनालाई बेचिरहेको छु,’ उनले भने, ‘एकै किसानले आयेजनाबाट हजारौं रुपैयाँ भुक्तानी लिन बाँकी छ।’
आयोजनाले यसअघि प्रत्येक ३ देखि ४ सातामा दूधको मूल्य भुक्तान गरिरहेको थियो। तर, अहिले लामो समययता किसानलाई उत्पादनको मूल्य नदिनु सरकारी आयोजनाको गैरजिम्मेवारी भएको राष्ट्रिय कृषक महासंघले बताएको छ।
महासंघ जिल्ला अध्यक्ष विष्णुप्रसाद दुलालले दूध बेचेरै छाक टार्ने किसानको समस्या सरकारी आयोजनाले नबुझेको बताए। ‘दूध बेचेर परिवार पाल्ने किसानलाई खान-लाउनै अभाव हुनेगरी समस्यामा पारिएको छ,’ उनले भने, ‘आयोजनाले विभिन्न बहानामा किसानको पसिनामा मनखुसी गर्न पाउँदैन, तत्काल किसानको दूधको मूल्य भुक्तान गरोस्।’
महासंघले विज्ञप्ति नै जारी गरी दूधको मूल्य भुक्तान गर्न माग गरेको छ। आयोजनालाई दूध बेच्ने जिल्लाका सबै क्षेत्रका किसानले भुक्तानी पाउन नसकेको महासंघले जनाएको छ।
संकलित दूध र यसको परिकार कोरोना महामारीका कारण बिक्री नहुँदा भुक्तानीमा समस्या भएको आयोजनाले जनाएको छ। आयोजना प्रमुख गणेश यादवले संकलित दूध विक्री गर्न नसक्दा भुक्तानी गर्न नसकेको बताए।
‘अहिले दिनमा २६ हजार लिटर हाराहारी दूध संकलन भइरहेकामा विक्री ६ हजार लिटरमात्र छ,’ उनले भने, ‘ठूलो परिमाणको दूध बिक्री नै नभएकाले किसानलाई भुक्तानी दिन नसकिएको हो।’
यादवका अनुसार विराटनगरमा संकलन भएकोमध्ये दैनिक २ हजारदेखि ३ हजार लिटर दूध नै बिक्री भइरहेको छ। १ हजार लिटर हाराहारी दही र बाँकी पाउडर बिक्री हुन्छ। तर, दूध र दही बिक्री नभएपछि पाउडर उत्पादन गर्नुपरेको आयोजनाले जनाएको छ। ‘अहिले २ सय ४८ मेट्रिक टन पाउडर विक्री नभएर स्टक छ,’ प्रमुख यादवले भने, ‘देशभित्रमात्र होइन, भारतमा समेत पाउडर बिक्री गर्ने प्रयास गरियो तर सफल भएन।’
आयोजनामा दिनहुँ संकलन भइरहेको करिब २६ हजार लिटर दूधमध्ये २० हजार लिटर इलामबाटै जान्छ। जिल्लाका ७ स्थानमा रहेका दुग्ध चिस्यान केन्द्रमा सहकारीमार्फत् संकलित दूध विराटनगर पुर्याइन्छ। आयोजनाले प्रतिलिटर ४५ रुपैयाँसम्ममा दूध खरिद गरिरहेको छ। इलामबाट झापा, मोरङ र सुनसरीका निजी दुग्ध प्रशोधन केन्द्रमा समेत दिनहुँ हजारौं लिटर दूध जान्छ। निजीमा भने अहिले मूल्य भुक्तानीको समस्या नरहेको किसानले जनाए।
इलामस्थित भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार जिल्लामा आर्थिक वर्ष २०७६/०७७ मा जिल्लामा १ लाख २५ हजार १ सय ८२ मेट्रिक टन दूध उत्पादन भएको छ। गाईको दूध १ लाख १३ हजार ५ सय ७६, भैंसीको ११ हजार ६ सय ४ तथा चौंरीको २ मेट्रिक टन दूध उत्पादन भएको केन्द्रको तथ्यांक छ।
