काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डताको रक्षा एवं जनताको जीउधनको सुरक्षा गर्दै सामाजिक सद्भाव कायम गर्न सशस्त्र प्रहरी बल सक्षम रहेको बताएका छन्।
सशस्त्र प्रहरी दिवसको २३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले सशस्त्र प्रहरी सामाजिक सद्भाव कायम गर्न सरकारबाट प्रदान गरिएका आदेश तथा निर्देशनहरूलाई पालना गरी समन्वयात्मक तवरले परिचालित हुनुपर्ने बताए।
संवैधानिक सर्वोच्चता र कानुनी शासनको मान्यतालाई आत्मसात र मानव अधिकारको संरक्षण गर्दै मानवीय कानुनहरूको पूर्ण पालना र भ्रष्टाचार तथा लैङ्गिक विभेदमा शून्य सहनशीलताका नीति प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा प्रधानमन्त्री प्रचण्डले जोड दिए। उनले सामाजिक न्याय, सुशासन र समृद्धिको राष्ट्रिय कार्यभारको कार्यान्वयनमा आफ्नो क्षेत्रबाट इमानदार र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए।
असीमित आवश्यकता र सीमित साधनस्रोतको विरोधाभासपूर्ण परिस्थितिमा नेपालजस्ता विकासशील मुलुकहरूले समस्या झेलिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लोसमय महाभूकम्प, कोभिड महामारी, विश्व राजनीतिमा देखिएको ध्रुवीकरण र त्यसको प्रत्यक्ष प्रभावजस्ता कारण अर्थतन्त्रले निकै ठूलो चुनौतीको सामना गरिएको बताए।
‘निरन्तरको प्रयासबाट अर्थतन्त्रमा राम्रो सुधार आएको छ, यद्यपि हाम्रो दवाव पूर्णतः अन्त्य भइसकेको छैन। आधुनिक हातहतियार, गोलीगठ्ठा, असभावका सामानहरू, विपद् व्यवस्थापनका सामानहरू, सवारीसाधन, भौतिक पूर्वाधारलगायत आवश्यक सञ्चार तथा अन्य उपकरणहरू र जनशक्तिका लागि सरकारको तर्फबाट आवश्यक पहल भई नै रहेको छ,’ कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री प्रचण्डले भने।
प्रधानमन्त्री प्रचण्डले विसं २०७२ सालको विनाशकारी महाभूकम्प तथा पछिल्लोसमय बझाङ, जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पलगायत विभिन्न समयमा घटेका प्राकृतिक तथा मानवसिर्जित विपद्मा कर्तव्यनिष्ठ भएर जनताको जीवन रक्षामा गरेको भन्दै सशस्त्र बलले पुर्याएको योगदानको प्रशंसा गरेका थिए।


