फुङलिङ (ताप्लेजुङ) ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ। जिल्लाको उच्च हिमाली क्षेत्र तथा पाथीभरामा बाग्लो हिमपात भएको हो।
शुक्रबार साँझ वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन्। वर्षासँगै पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतोले बताए। पाथीभरामा यो वर्ष तेस्रो पटक हिमपात भएको हो। यसअघि कात्तिकमा सामान्य हिमपात भएको थियो।
फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा–७ ओलाङ्चुङगोला, याङ्मालगायत जिल्लाको हिमाली बस्तीमा हिउँ परेको घुन्साका छिरिङ टाँसी शेर्पाले बताए। शेर्पाका अनुसार हिमाली क्षेत्रमा अहिले हिमपात भइरहेको छ।
यसैगरी तेह्रथुम, सङ्खुवासभासँगको सीमावर्ती क्षेत्र तथा मैवाखोला गाउँपालिकाको शिर तीनजुरे–मिल्के–जलजले क्षेत्रमा पनि हिमपात भएको छ। जिल्लाको मिक्वाखोला गाउँपालिका–५ पापुङ, सिदिङ्वा गाउँपालिकाको उच्च भागमा हिमपात भएको स्थानीयले बताएका छन्।
यस वर्ष विगतका तुलनामा भने कमै हिमपात भएको छ। हिमपात र वर्षा भएपछि किसान हर्षित भएका छन्। मकैलगायत खाद्यान्न बाली लगाउने समयमा हिमपात र वर्षा हुँदा किसानले राहत महसुस गरेका छन्।
त्यस्तै नगदे बाली अलैँची, तरकारलगायत बालीका लागि पनि हिउँ र वर्षाले राहत मिलेको किसानको भनाइ छ। जिल्लाको उच्च स्थानीयमा हिमपात भएसँगै अध्यधिक चिसो बढ्को छ।
