काठमाडौँ- काठमाडौंमा यो वर्ष सबैभन्दा न्यून तापक्रम मापन गरिएको छ।
बिहान पौने ६ बजे काठमाडौँको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। उक्त तापक्रम यस वर्षकै कम भएको महाशाखाको भनाइ छ।
दिउँसो १२ बज्दा काठमाडौँमा घाम लागिरहेको अवस्था भए पनि तापक्रम भने १४ डिग्री सेल्सियस छ। दिउँसो २ बजे अधिकतम १६ डिग्री सेल्सियस तापक्रम पुग्ने अनुमान गरिएको छ।
महाशाखाका अनुसार पूर्वी तथा मध्यपहाडी र मधेश प्रदेशमा शनिबार आंशिक बदली रहने छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना छ।
पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले वर्षाको सम्भावना नरहेको महाशाखाले बताएको छ।


