काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको जनमुखी कदमहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको आशा र भरोसा बढाउने काम गरेको बताएका छन्।
नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जनतामा ‘अब चाँहि केही हुन्छ’ भन्ने सकारात्मक सोंचको विकास र नयाँ आशाको सञ्चार हुनु सकारात्मक उपलब्धि मान्नुपर्ने बताएका हुन्।
‘सरकारले चालेका जनमुखी कदमहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको आशा र भरोसा बढाउने काम गरेको छ। जनतामा ‘अब चाँहि केही हुन्छ’ भन्ने सकारात्मक सोंचको विकास र नयाँ आशाको सञ्चार हुनु सकारात्मक उपलब्धि मान्नुपर्दछ,’ उनले भने।
चुनौतीपूर्ण परिस्थितिमा गठन भएको आफ्नो नेतृत्वको वर्तमान सरकारले एक वर्ष, एक महिनाको अवधि पूरा गरिसकेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यसबीचमा इतिहासले सम्झिने गरी कैयौँ साहसिक र जनपक्षीय कामहरू अघि बढाएको बताए।
‘सरकारले गरेको नक्कली भुटानी शरणार्थी काण्डको छानविन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कारबाही, सुनकाण्डको निष्पक्ष छानविनजस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत भएका अपराधकर्मको पर्दाफास गरेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मिटरब्याजपीडितहरूको पक्षमा बनाइएका कानुन, नागरिकताविहीन नेपाली नागरिकका सन्तानहरूका लागि नागरिकता ऐन निर्माण, वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक एवं स्वरोजगार क्षेत्रमा कार्यरत श्रमजीवीहरूका लागि गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा, राहदानी, सवारी चालक अनुमतिपत्रजस्ता कार्यहरूले जनतामा आशा जगाएको छ।’
सरकारले चालेका सुधारात्मक कदमबाट देशको अर्थतन्त्रसमेत लयमा फर्किइसकेको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘दैनिक सेवा प्रवाह गर्ने कार्यालयहरूमा लाग्ने अव्यवस्थित लाइन हटाउने कदम, अस्पतालमा निःशुल्क श्ययाको व्यवस्थादेखि स्वास्थ्य क्षेत्रमा सुधार र पाठ्यपुस्तक, मलको आपूर्तिसहित सामाजिक न्यायको क्षेत्रमा गरेको पहलकदमीको सर्वत्र प्रशंसा भइरहेको छ।’
प्रधानमन्त्रीले वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ‘ग्यारेण्टी’ गर्नेगरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्नुका सरकार प्रतिबद्ध रहेको बताए। उनले श्रमजीवी पत्रकारका लागि निर्मित कानुनको प्रभावकारी कार्यान्वयन गर्दै सूचनाको हक प्रदान गर्ने कुरा राज्यको दायित्वका रूपमा स्थापित गरिने प्रतिबद्धता व्यक्त गरे।
कोभिड–१९ र विश्वमै आएको आर्थिक मन्दीका कारण केही वर्षदेखि नेपालको विज्ञापन बजार खुम्चिएकाले नेपालका सञ्चारमाध्यमले भोग्नुपरेका समस्याबारे आफू जानकार रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले विषम अवस्थामा पनि राष्ट्रिय प्रसारण संस्था नेपाल टेलिभिजनले प्रसारकको जननी हुनुको गौरवलाई जोगाई राख्नुपर्नेमा जोड दिए।
नेपाल टेलिभिजनको ३९औँ वार्षिकोत्सवको उपलक्ष्यमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको सम्बोधन
नेपाल टेलिभिजनको ३९ औं वार्षिकोत्सवको अवसरमा आम दर्शक र नेपाल टेलिभिजनमा आवद्ध तपाईहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
२०४१ साल माघ १७ गते स्थापित नेपाल टेलिभिजनको हाल ५ वटा च्यानल र न्यूज पोर्टल नेपाल टिभी अनलाइन सञ्चालनमा रहेको जानकारी पाउँदा खुशी लागेको छ। सङ्घीयताको मर्मअनुसार प्रदेश र स्थानीय सरकारका गतिविधिलाई समेत आम दर्शकसम्म निरन्तर जोड्नका लागि नपाल टेलिभिजनका सबै च्यानलले २४ सै घण्टा प्रसारण गरिरहेका कार्यहरू प्रशंसनीय छन्। नेपाल टेलिभिजनले आफ्नो व्यावसायिक वृत्तिका साथै सङ्घीयता, समावेशीता र समानताको मर्मलाई आत्मसात गर्दै उत्पादन तथा प्रसारण गरेका कार्यक्रमहरूले आपसी सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाएको छ। नेपाल टेलिभिजनले विभिन्न १० भाषामा समावेशी कार्यक्रम र ६ भाषामा समाचार प्रसारण गर्नु खुसीको कुरा हो। यसका साथै थप भाषामा समेत समावेशी समाचार प्रसारण हुने अपेक्षा गरेको छु।
नेपाल टेलिभिजन राज्यको आधिकारिक र जिम्मेवार प्रसारण संस्था भएकाले राज्यप्रतिको दायित्व र नागरिकप्रतिको जिम्मेवारीलाई निर्विवाद निर्वाह गरेको छ र गरिरहने छ भन्ने विश्वास पनि व्यक्त गर्दछु। राज्यप्रतिको दायित्व भनेको सरकारको गुणगान नभई सुशासन, पारदर्शीता र जवाफदेहिताको पहरेदारी हो भने नागरिकप्रतिको जिम्मेवारी भनेको नेपाली नागरिकका संविधानप्रदत्त अधिकारको प्रत्याभूति हो।
लोकतन्त्र र नागरिक अधिकारलाई सर्वोपरि राखेको वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई जिम्मेवाररूपमा सदैव सुरक्षित गर्नेछ। म नियन्त्रण र निर्देशनमा होइन, निर्विकल्प लोकतान्त्रिक अभ्यासमा विश्वास गर्छु। त्यसैले लोकतन्त्र, नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताको आधारभूत मान्यतालाई आत्मसात गरिएका विषयवस्तुहरु नेपाल टेलिभिजनमा देख्न चाहन्छु। यसका साथै देशकै पहिलो टेलिभिजन भएकाले नेपाल टेलिभिजनले आफूलाई सूचना तथा सञ्चार क्षेत्रको प्रविधिमा आएको परिवर्तन अनुसार समयानुकूल बनाउनुपर्ने अवस्था देखेको छु। मूलतः अबको डिजिटल युगमा नेपाल टेलिभिजनले पनि आफ्ना उत्पादन र प्रसारणलाई त्यसतर्फ व्यापकरूपमा स्थापित गर्न ढिला गर्नु हुँदैन।
यसका साथै टेलिभिजनको अबको आवश्यकता र आम दर्शकको रूचिअनुसारका विषयवस्तुमा आफूलाई केन्द्रित गरी संस्थानको विकासका लागि नयाँ तर दीर्घकालीन योजना र स्पष्ट दृष्टिकोणका साथ अगाडि बढ्नु पर्दछ। सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरेर सार्वजनिक सेवा प्रसारण संस्था बनाउने गरी संसदमा रहेको विद्येयकमा समायानुकूल परिमार्जनसहित पारित गर्न प्रस्ताव गर्ने तयारी गरेको छ। तपाईहरूले नै आगामी दिनका लागि सकारात्मक प्रभाव राख्ने सही विश्लेषणसहितको योजनाको सङ्कल्प तयार गर्नुहोस्, यसमा मेरो र सरकारको सहयोगी भूमिका रहनेछ।
‘टेलिभिजन भनेको ‘प्रविधि र प्रतिभा’को संयोजन हो। प्रविधिमा आएको परिवर्तनले अब तपाईका दर्शकले एक दशकअघिको समयजस्तो तपाईको कार्यक्रम र तपाईको टेलिभिजन च्यानललाई कोठाको टिभी सेटमा कुरेर बस्ने छैनन्। डिजिटल प्लेटफर्म र इन्टरनेटको पहुँचमा रहेका दर्शकका रूचिलाई आत्मसात गर्ने, दर्शकले हेर्न खोजेका विषयवस्तुलाई उनीहरूकै रूचि र अनुकूल प्रविधिमा हेर्ने सुविधाको सुनिश्चितता गर्ने तथा उच्च व्यावसायिकता र सिर्जनशीलताको परीक्षा र सफल नतिजा देखाउने सही समय यही हो भन्ने मलाई लाग्दछ।
सरकारले नवीनतम प्रविधिको प्रयोगबाट सञ्चालित मिडियालाई विश्वसनीय, जिम्मेवार र जवाफदेही बन्न स्वनियमनको प्रणाली अवलम्बन गर्नुपर्छ भनेर आग्रह गर्दै आएको छ। सरोकार पक्षको सहभागितामा आमसञ्चार सम्बन्धी विद्येयकको मस्यौदा गर्ने र त्यसलाई वेभसाइटमा सार्वजनिक गरेर सुझाव लिने काम भइरहेको छ। पत्रकारिता क्षेत्रको विकास र प्रविधिको प्रयोगलाई प्रोत्साहित गरेको सरकारले गरेका केही नयाँ नीतिगत व्यवस्थाहरू नियन्त्रणका लागि होइनन, नियमन र व्यवस्थापनका लागि हुन्। दीर्घकालमा यसले न्यू मिडियाको विश्वसनीयतालाई बलियो बनाउँदै नयाँ प्रविधिको प्रयोगबाट हुने सूचना सामग्रीको सम्प्रेषणलाई समेत थप प्रभावकारी बनाउने छ। सामाजिक सञ्जालहरू विस्तारित हुँदै गर्दा मूलधारका सञ्चार माध्यम र सञ्चारकर्मीहरूको जिम्मेवारी अझ बढ्दै गएको छ। गलत र असन्तुलित सूचना र समाचारले व्यक्ति पीडित हुने, परिवार र समाज विखण्डित हुने अनि राज्य कमजोर बन्दै जाने जोखिम रहन्छ। त्यसैले सही, सन्तुलित र सत्य सूचना र समाचार प्रवाहको व्यावसायिक जिम्मेवारी निर्वाहमा पत्रकार र पत्रकारिता क्षेत्र गम्भीर र संवेदनशील हुनुपर्दछ।
चुनौतीपूर्ण परिस्थितिमा गठन भएको मेरो नेतृत्वको वर्तमान सरकारले एक वर्ष एक महिनाको अवधि पूरा गरिसकेको छ। यसबीचमा सरकारले इतिहासले नै सम्झिने गरी कैयौँ साहसिक र जनपक्षीय कामहरू अघि बढाएको छ। सरकारले गरेको नक्कली भुटानी शरणार्थी काण्डको छानविन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कार्वाही, सुनकाण्डको निष्पक्ष छानविन जस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत भएका अपराधकर्मको पर्दाफास गरेको छ। मिटरब्याज पीडितहरूको पक्षमा बनाइएका कानुन, नागरिकताविहीन नेपाली नागरिकका सन्तानहरूका लागि नागरिकता ऐन निर्माण, वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक एवं स्वरोजगार क्षेत्रमा कार्यरत श्रमजीवीहरूका लागि गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा, राहदानी, सवारी चालक अनुमतिपत्र जस्ता दैनिक सेवा प्रवाह गर्ने कार्यालयहरूमा लाग्ने अव्यवस्थित लाइन हटाउने कदम, अस्पतालमा निशुल्क श्ययाको व्यवस्थादेखि स्वास्थ्य क्षेत्रमा सुधार र पाठ्यपुस्तक, मलको आपूर्तिसहित सामाजिक न्यायको क्षेत्रमा गरेको पहलकदमीको सर्वत्र प्रशंसा भइरहेको छ भने सरकारले चालेका सुधारात्मक कदमबाट देशको अर्थतन्त्रसमेत लयमा फर्किइसकेको छ। यसरी सरकारले चालेका जनमुखी कदमहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको आशा र भरोसा बढाउने काम गरेको छ। जनतामा ‘अब चाँहि केही हुन्छ’ भन्ने सकारात्मक सोंचको विकास र नयाँ आशाको सञ्चार हुनु सकारात्मक उपलब्धि मान्नुपर्दछ।
वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्नेगरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्नुका साथै कानुनी र व्यावहारिक सुनिश्चितता गर्न प्रतिवद्ध छ। श्रमजीवी पत्रकारका लागि निर्मित कानुनहरूको प्रभावकारी कार्यान्वयन गर्दै सूचनाको हक प्रदान गर्ने कुरा राज्यको दायित्वका रूपमा स्थापित गरिनेछ। यसका निम्ति सञ्चारमाध्यम र सञ्चार क्षेत्रमा क्रियाशील सबै सरोकार पक्षबीच सकारात्मक र रचनात्मक सहकार्य रहनेछ भन्नेमा म विश्वस्त छु।
मलाई थाहा छ, कोभिड १९ र विश्वमै आएको आर्थिक मन्दीका कारण केही वर्षदेखि नेपालको विज्ञापन बजार खुम्चिएकाले नेपालका सञ्चारमाध्यमले भोग्नुपरेका समस्याबारे म जानकार नै छु। यस्तो अवस्थामा पनि राष्ट्रिय प्रसारण संस्था नेपाल टेलिभिजनले नेपालमा टेलिभिजन प्रसारकको जननी हुनुको गौरवलाई जोगाई राख्नुपर्दछ। यस्तो काममा नेपाल टेलिभिजनका तपाई सबै टेलिभिजनकर्मी, प्रविधिका ज्ञाता, प्राविधिक जनशक्ति र सिर्जनाका शिल्पीहरूलाई सफलता मिलोस्। मेरो शुभकामना छ। अनि नेपाल टेलिभिजनले गर्ने सुकर्ममा सरकार र मेरो सदैव रचनात्मक र सकारात्मक सहयोग रहने छ।


