काठमाडौँ- सुन तस्करीका विषयमा अनुसन्धान गर्न गठित आयोगले चुडामणि उप्रेती ‘गोरे’सँग बयान लिएको छ।
३३ किलो सुन तस्करीमा संलग्न भएको आरोपमा थुनामा रहेका गोरेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगका पदाधिकारीसमक्ष बयान दिएका हुन्।
दुबईबाट तस्करी गरी काठमाडौँमा ल्याएको ३३ किलो सुन भने हराइरहेको छ।
उक्त सुन हराएपनि गोरे समूहका एक जनाको हत्याको अभियोगमा ‘गोरे’ सुन्धारास्थित केन्द्रीय कारागारमा थुनामा छन्।
२०७४ माघ ९ मा विमानस्थलमा आएको सुन ‘गोरे’ को समूहले ल्याएको अनुसन्धान निष्कर्ष छ।
भरियाले काठमाडौँको नयाँबानेश्वरस्थित रत्नराज्य स्कुल नजिकैबाट लुटिएको जानकारी गराएको गोरेले बयानमा खुलाएका छन्।
आफूलाई सिंहदरबार ल्याइएपछि गोरेले आयोगका पदाधिकारीहरूसँग जिज्ञासा राखेका थिए। गोरेको प्रश्न थियो, ‘मलाई फेरि के गर्न लाग्नुभयो?’


