किमाथांका- सङ्खुवासभाको उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी-किमाथाङ्का सडकमा सुक्खा पहिरोमा परी एक जना घाइते भएका छन्।
शनिबार बिहान ८ बजे मकालु-३ हेदाङ्नास्थित नयाँबस्तीमा खसेको सुक्खा पहिरोमा परेर रामेछापका २१ वर्षीय स्काभेटर सहचालक सविन केसी घाइते भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।
घाइते केसीको उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ।
पहिरोमा बरुण निर्माण सेवा कम्पनीको एक थान स्काभेटसमेत पुरिएको छ।
उक्त कम्पनीले सडक स्तरोन्नति गर्ने कामको जिम्मा लिएको छ। स्तरोन्नतिको कामका लागि स्काभेटर लिएर पुगेका केसीले चलाउने स्काभेटर पुरिएको हो।
पहिरोको कारण कोशी राजमार्गसमेत अवरुद्ध भएको छ। पहिरो हटाएर राजमार्ग खुलाउने काम भइरहेको उत्तर-दक्षिण कोशी सडक आयोजनाका प्रमुख इन्जिनियर सविन कोइरालाले जानकारी दिए।
सडक अवरुद्ध भएपछि भोटखोलाबाट सदरमुकाम खाँदबारी आउने दर्जनौँ यात्रु नयाँबस्ती नजिकै अलपत्र परेका छन्।


