काठमाडौँ- धार्मिक, ऐतिहासिक एवं पुरातात्विक महत्वको काठमाडौँको झोरस्थित बौडेश्वर महादेव मन्दिर परिसर निर्माणका लागि तारकेश्वर र टोखा नगरपालिकाले लगानी गर्ने भएका छन्।
ती २ नगरपालिकाले संयुक्त रुपमा १ करोड ९९ लाख ९६ हजार ८४४ सहयोग गर्ने भएका छन्। धार्मिक पर्यटनमार्फत तारकेश्वर र टोखा नगरपालिकाको पर्यटन प्रर्वद्धन गर्ने मुख्य उद्देश्यका साथ २ नगरपालिकाको सिमानामा रहेको बौडेश्वर महादेव मन्दिर परिसर निर्माणका लागि लगानी गर्न लागेका हुन्।
उक्त मन्दिर परिसरलाई संयुक्तरुपमा निर्माण गर्नका लागि आइतबार २ नगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा तारकेश्वर नगरप्रमुख कृष्णहरि महर्जन र टोखा नगर प्रमुख प्रकाश अधिकारीले हस्ताक्षर गरेका छन्।
दुवै नगरपालिकाबाट एक–एक करोडको लगानीबाट मन्दिर परिसरमा पार्टी, मन्दिरसम्म आउने बाटोमा सिँढी निर्माण तथा पञ्चमीको दिन नुहाउनको लागि स्नान कुण्डलगायतका भौतिक संरचना निर्माण गरिनेछ।
टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले दुई नगरपालिकाबीच एकीकृतरुपमा पर्यटन प्रवद्धन गर्ने लक्ष्यका साथ बौडेश्वर मन्दिर परिसरमा आवश्यक संरचना निर्माण गर्न लागिएको जानकारी दिए।
झोरस्थित श्रीकृष्ण बौडेश्वर मन्दिरमा वैकुण्ठ चतुर्दशी अवसर मेला लाग्ने गरेको छ। पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्रको रुपमा विकास भएको उक्त मन्दिरमा हरेक वर्षको कात्तिक शुक्ल चतुर्दशीका दिन श्रद्धालुले पारिवारिक सुख एवं सन्तान प्राप्तिको लागि दीपदान गर्ने गर्छन्।
बौडेश्वर मन्दिर परिसरमा झरनासमेत रहेकाले दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक त्यस क्षेत्रमा जाने गरेका छन्। कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी, टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङ, तारकेश्वर तथा टोखाका विभिन्न वडाका जनप्रतिनिधि एवं कर्मचारीको सहभागिता रहेको थियो।
