काठमाडौँ- फागुन १ लाई ‘जनयुद्ध’ दिवस मानेर बिदा दिने निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्च अदालते गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ।
सरकारको उक्त निर्णय न्यायपूर्ण, स्वच्छ, विवेकपूर्ण, औचित्यपूर्ण, जायज र न्यायिक समेत नभएकोसमेत सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठमा उल्लेख छ।
पुस १३ गते सर्वोच्च अदालतले ‘जनयुद्ध’ दिवसमा बिदा दिने सरकारको निर्णयलाई बदर गरिदिएको थियो।
सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलले गरेको फैसलाको पूर्णपाठमा बिदा दिने निर्णय संविधानको व्यवस्था, मर्म, र मूल भावना प्रतिकूल रहेकोसमेत सर्वोच्चको ठहर छ।
संविधान निर्माणका क्रममा २०६६ पुस १० गते संवैधानिक समितिमा छलफल हुँदा ‘जनयुद्ध थप गर्ने भन्ने’ शब्दसम्बन्धी प्रस्ताव बहुमतबाट अस्वीकृत भएकाले फागुन १ मा बिदा दिन नसकिने फैसलामा उल्लेख छ।
फागुन १ गते बिदा दिने निर्णयले संक्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुग्न समेत नदिने फैसलामा उल्लेख छ।


