काठमाडौँ- चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ३ हजार बढी लागुऔषध कारोबारी पक्राउ परेका छन्। प्रहरीका अनुसार बितेका ६ महिनामा ३ हजार ४५ जना लागुऔषध कारोबारी पक्राउ परेका हुन्। जसमा लागुऔषध प्रयोगकर्ता र कारोबारी रहेकाछन्।
उक्त अवधिमा २ हजार ७ सय ५८ पुरुष र १ सय ४४ जना महिला, १ सय ३३ जना विदेशी पुरुष र १० जना विदेशी महिला पक्राउ परेका हुन्। १ हजार ९ सय ६० मुद्दा दर्ता भएका छन्। पक्राउ परेकाहरू गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन, सेवन गर्ने तथा यसको अवैध ओसारपसारमा संलग्न रहेका हुन्।
उनीहरूबाट ८ हजार ३ सय २० केजी गाँजा, ३ सय ८ केजी चरेस, १० केजी हेरोइन, २७ केजी अफिम र तीन केजी कोकिन बरामद गरी नष्ट गरिएको प्रहरीले जनाएको छ।
यसैबीच, पनौती नगरपालिका–५ आईटी पार्कस्थित सडकबाट दुई सय ८५ केजी अवैध गाँजासहित तीन जना पक्राउ परेका छन्। प्रहरीका अनुसार नुवाकोटको विदुर नगरपालिका–११ का बुद्धमान तामाङ, रामेछाप नगरपालिका–८ का २० वर्षीय सञ्जित तामाङ र ५३ वर्षीया विमला तामाङलाई पक्राउ गरिएको हो।
