काठमाडाैँ- सर्लाहीमा नापी कार्यालयका कर्मचारी सवार गाडी ट्याक्टरसँग ठोकिँदा दुर्घटना भएको छ। दुर्घटनामा ११ जना घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सोमबार राति मलंगवा नगरपालिका ११ गमहरियामा कर्मचारी सवार बी.आ.०६ पी.डी.९६४८ नम्बरको सफारी गाडी उँखु लोड भएको ज२त १०६७ नम्बरको ट्याक्टरसँग ठोकिएको हो।
ट्याक्टर चालक फरार भएका छन्। उनको खोजिसँगै दुर्घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
घाइते हुने सबै सफारीमा सवार नापी कार्यालय सर्लाहीका कर्मचारी रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये नापी कार्यालय सर्लाहीका प्रमुख काभ्रे बनेपाका ४५ वर्षीय संजय मान्धर, मलंगवा ३ का ३५ वर्षीय रामलाल साह, सर्लाहीको बागमती नगरपालिका ५ बस्ने विनोद घिमिरे र महोत्तरीका ३० वर्षीय बैजु यादव गम्भीर छन्।
उनीहरुलाई थप उपचारको लागि वीरगञ्ज रेफर गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ।
त्यस्तै मध्यम घाइते हुनेहरुमा सर्लाहीको कौडेना गाउँपालिका २ बस्ने वर्ष २४ का संजित मण्डल, महोत्तरीको एकडारा गाउँपालिका २ बस्ने वर्ष ३० का रिटेन यादव, मलंगवा नगरपालिका ३ बस्ने वर्ष ५० का बैधनाथ पटेल, मलंगवा नगरपालिका ७ बस्ने वर्ष ३४ का रामबावु राय, धनुषाको शहीदनगर नगरपालिका ७ बस्ने वर्ष २९ का दिपेन्द्र यादव, बाराको कलैया उपमहानगरपालिका २० बस्ने वर्ष २४ का शहीद अनवर र महोत्तरी बस्ने वर्ष २५ का अजय यादव छन्।


