काठमाडौँ- संघीय सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले जनस्वास्थ्यमाथि खेलबाड गरेको टिप्पणी गरेकी छन्। बालेनका कामले सकारात्मक सन्देश नदिएको भन्दै उनले महानगरको कार्यशैलीप्रति असन्तुष्टिसमेत व्यक्त गरेकी छन्।
मन्त्रिपरिषद्का निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा उनले महानगरका सुकुम्बासी बस्ती व्यवस्थापनका विषयमा सरकार गम्भीर भएको बताउँदै महानगरका मेयर बालेन्द्र शाहका गतिविधिमाथि संघ सरकार गम्भीर भएको बताएकी हुन्।
‘अर्को कुनै विषय पूर्तिका लागि त्यस(फोहोर व्यवस्थापन)लाई हडतालको विषय बनाइनु हुन्न। यो धेरै संवेदनशील विषय हो। जिम्मेवार व्यक्तिले संवेदनशील विषयमा फहोर नउठाउने कदम चाल्नु जनस्वास्थ्यमाथि खेलबाड ठहर्छ,’ उनले भनिन्, ‘उहाँ (बालेन)ले भनेका विषय टुंगिएनन् भनेर जनस्वास्थमाथि खेलबाड गर्न पाइँदैन।’
काठमाडौँको मेयर जस्तो मान्छेले कानुन र संविधानको मर्मअनुसार काम नगरेको उनको टिप्पणी थियो। ‘काठमाडौँको मेयर जस्तो व्यक्तिले कानुन र संविधान बुझ्नुभएन भन्ने म ठान्दिनँ। सुकुम्बासीको व्यवस्थापन गर्ने कुरामा संघीय सरकारले सहयोग गरेन भन्ने पनि होइन,’ उनले भनिन्, ‘संघले लगेर एकैपटक डोजर लगाउने कुरा होइन। त्यहाँ विभिन्न निकाय छन्। कानुनी र संवैधानिक ढंगबाट सबैसँग समन्वय गरी काम गर्ने विषय हो।’
सार्वजनिक पद धारण गरेको व्यक्तिले संविधान र कानुन मान्दिनँ भनेर बाहिर जाने कुरा गर्न नमिल्ने पनि स्मरण गराउँदै संवेदनशील बन्न महानगरका मेयर बालेनलाई आग्रह गरिन्। महानगरका मेयर बालेन्द्र शाहले उठाएका विषयमा प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्ले गम्भीर रूपमा लिएको बताएकी उनले कानुनी र नीतिगत रूपमा काम गरिने बताइन्। ‘स्थानीय सरकार पनि सरकार हो। उसले पनि संविधान, नीति र कानुन पनि बुझ्नुपर्छ। मान्नुपर्छ। त्यसैअनुसार चल्नुपर्छ,’ उनको भनाइ छ।
कानुनका व्यवस्था आफूलाई मन परे परिवर्तन गर्न सामर्थ्य राख्न पाइने तर सार्वजनिक पदमा बसेको व्यक्तिले कानुन मन नपरे मान्दिनँ भन्न नपाइने उनको भनाइ छ। ‘हाम्रा नीतिगत व्यवस्था बेठिक पनि हुन सक्छन्। हामीलाई चित्त नबुझेको पनि हुन सक्छ। त्यस्ता व्यवस्था तर या त परिवर्तन गर्नुपर्छ। नत्र कानुन संविधान मान्दैनौँ भन्यो भने हुन्छ के? यसले कस्तो सन्देश दिन्छ? भन्ने कुरा हामीलाई थाहा छ। यसले सकारात्मक सन्देश प्रवाह गर्दैन।’
संविधानमा नै फोहोरमैला व्यवस्थापनको जिम्मा स्थानीय सरकारको भनेर प्रष्ट रूपमा लेखिएको तर मेयर बालेन्द्र साहले कार्यअधिकार क्षेत्र बाहिरका विषय आफ्नो इच्छा पूर्ति गर्न फोहोर नउठाएर गलत सौदाबाजी गरेको उनको संकेत थियो।


