काठमाडौँ- परराष्ट्रमन्त्री नारायणप्रकाश साउद बुधबार अस्ट्रेलिया जाने भएका छन्।
अस्ट्रेलिया सरकार र इन्डिया फाउण्डेसनद्वारा माघ २६ र २७ गते पर्थमा आयोजना हुने सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन साउद अस्ट्रेलिया जान लागेका हुन्।
बुधबार साँझ ६ बजे मन्त्री साउद त्यसतर्फ प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
साउदले माघ २७ गते ‘स्थिर र दिगो हिन्द महासागरतर्फ’ विषयमा हुन लागेको सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ।
पर्थमा साउदले अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङसँग द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ।
नेपाली प्रतिनिधिमण्डलमा अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल पनि सहभागी हुनेछन्।
मन्त्री साउद फागुन ३ गते स्वदेश फर्किनेछन्।


