रोल्पा- रोल्पाको माडी गाउँपालिकाले सर्वोच्च अदालतको आदेशलाई चुनौती दिँदै फागुन १ गते सार्वजनिक बिदा दिएको छ।
माघ १७ गतेको गाउँकार्यपालिकाको बैठकको निर्णय अनुसार फागुन १ गते ‘जनयुद्ध’ दिवसका अवसरमा भन्दै पालिकाले सार्वजनिक बिदा दिएको हो।
प्रमुख प्रशासकीय अधिकृत युवराज परियारले सूचना निकालेर फागुन १ गते जनयुद्ध दिवसमा बिदा दिने निर्णय भएको जानकारी गराएका छन्।
उक्त दिन गाउँपालिका मातहतका सबै सरकारी कार्यालय र शिक्षण संस्थाहरु बन्द रहने सूचनामा उल्लेख छ। उक्त गाउँपालिकामा गत स्थानीय चुनावमा माओवादी केन्द्रले जितेको थियो ।
सर्वोच्च अदालतले भने ‘जनयुद्ध’ दिवसमा बिदा दिने पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गत वर्ष गरेको निर्णय खारेज गरेको थियो।
विभिन्न मितिमा परेका ६ वटा रिटमाथि सुनुवाइ गरेको सर्वोच्चले संक्रमणलीन न्याय प्रभावित हुनसक्ने तथा द्वन्द्वपीडितहरुको भावना चोट पर्नसक्ने भन्दै ‘जनयुद्ध’ दिवसमा बिदा दिने निर्णय खारेज गरिसकेको छ।
गाउँपालिकाले उक्त आदेशलाई चुनौती दिएको हो।


