काठमाडौँ- त्रिविको उपकुलपतिका लागि आवेदन दिएका मध्ये सर्ट लिस्टमा परेका १४ जनाको नाम सार्वजनिक भएको छ। त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले सर्ट लिस्टमा परेकाहरूको नामावली सार्वजनिक गरेको हो।
जसअनुसार काठमाडौँका कुसुम शाक्य, काठमाडौँकै गोविन्द सुवेदी, पाल्पाका केशर जङ्ग बराल, बागलुङकाचित्रबहादुर बुढाथोकी, नवलपरासीका ज्ञानेन्द्र पौड्याल र ओखलढुंगाका टंकनाथ धमला रहेका छन्।
यस्तै तीर्थराज खनियाँ चितवन, नारायण प्रसाद बेलबासे अर्घाखाँची, प्रकाश घिमिरे काठमाडौँ, भोजराज अर्याल काठमाडौं महेन्द्र प्रसाद शर्मा बागलुङ रामचन्द्र बस्नेत काठमाडौँ, शिवलाल भुसाल अर्घाखाँची र सूर्यबहादुर थापा गुल्मी रहेका छन्।
समितिले सर्ट लिस्टमा समावेश गरेका यी १४ अनुहारबाट नै त्रिविको नयाँ उपकुलपति नियुक्त हुने बताएको छ। उपकुलपतिको लागि भएको खुला विज्ञापनमा ४३ जनाले दर्खास्त दिएका थिए।
त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटाको कार्यकाल यही कात्तिक १८ गते सकिएकपछि गत कात्तिक २४ गते प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईका अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा चन्द्रकला घिमिरे रहेकोसमिति गठन गरेका थिए। हाल शिक्षाध्यक्ष शिवलाल भुसाललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ।


