२०८३ कार्तिक १५ गते शनिवार

दुःखका पहाडमाथि ८ हजार उदारो तिर्नुको सकसले जन्मिएको ‘इन्जिनियर चिया’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १
sf

जनकपुरधाम- सूचना प्रविधिको युग। त्यसैमा कम्प्युटर इन्जिनियरिङमा स्नातक अर्थात् ‘बिटेक’ गरिसकेको युवा। यस्तो युवाले के गरिरहेका होलान्, कल्पना गर्नुहोस् त ? सोही विषयमा स्नातकोत्तर अध्ययनको तयारीमा जुटेका, रोजेखोजेको कार्यालयमा सफ्टवेयर बनाइरहेका, बहुचर्चित विधा आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सेक्युरिटीलगायत काममा नयाँ–नयाँ प्रयोग गर्न अभ्यस्त। त्यसै नभए पनि आफ्नो सीप र कला प्रयोग गरेर जीवनयापन गरिरहेका त पक्कै होलान् ! हरेकको मानसपटलमा यस्तै चित्र बन्छन्।

तर धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१० देवीचोक निवासी कम्प्युटर इन्जिनियर राजेश कर्णको दिनचर्या भने हामीले कल्पना गरेभन्दा भिन्न छ। कम्प्युटरका पाटपुर्जा र थरिथरि सफ्टवेर बनाउन किबोर्ड चलाउनुपर्ने उनका हात यतिखेर स्वादिलो चियाका लागि चियापत्ती, पानी र चिनी अड्कल्दै छन्। जनकपुरधाम–२ स्थित किशोरी चोकमा एउटा सानो सटरमा चियापसल सञ्चालन गरिरहेका छन् राजेशले।

घरी असरल्ल राखिएका चिया गिलास टिप्छन्, घरी चिया पकाउँछन्। सपना विश्वविद्यालयमा आर्जन गरेको कम्प्युटर शिक्षा प्रयोग गर्नेछ तर विपनामा भने यसैगरी चियाको मात्रा नापिरहनुपरेको छ उनले। ‘आफ्नै क्षेत्रमा काम गर्ने रहर त कसैलाई हुदैन र ! त्यस्तै रहर मलाई पनि थियो। तर रहरले मात्रै कहाँ हुँदोरहेछ ! त्यसैको उदाहरण हुँ म’, उनले भने।

रहरले त हुँदैन तर प्रविधिको ज्ञान त छ नि ! प्रयास गरेपछि कसो नहोला ? लामो सुस्केरा हाल्दै राजेशले थपे, ‘खै ! नहुँदोरहेछ। मसँग त रहर र सीप दुवै छ। प्रयास पनि कहाँ नगरेको हुँ र…!’

पछाडिबाट आवाज आयो, “दाई चिया” कुरा छाडेर काममा लागे उनी। ग्राहकलाई चिया दिइसकेपछि छेउमै आएर सोधे, ‘तपाईँहरूको नि ?’ जवाफमा हामीले पत्रकार भएको बताएपछि एउटा कुर्सी तानेर बस्नै लाग्दा फेरि ग्राहक थपिए

‘मेरो त काम नै यस्तै छ। सुरुका केही दिन त नरमाइलो लाग्थ्यो, अहिले भने अभ्यस्त हुँदैछु’ पाक्दै गरेको चिया चलाउँदै राजेशले भने, ‘पारिवारिक परिबन्ध र खराब समय चलेपछि जति प्रयास गर्दा पनि हुँदैन रहेछ। विज्ञानमा विश्वास गर्ने म अचेल त भाग्यमा यस्तै गर्नुरहेछ भनेर चित्त बुझाइरहेको छु।’

यसरी तुहियो सपना

जनकपुरधामस्थित एक निजी विद्यालयबाट २०६६ मा पहिलो श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण राजेशले स्नातकसम्मको शिक्षा भारतमा पढे। भारतको डाएनसी कलेज बेनीपट्टी, मधुबनीबाट प्लस टु साइन्स (प्रथम श्रेणी) र हिमाञ्चल प्रदेशस्थित बद्दी युनिभर्सिटी अफ इमर्जिङ साइन्स एण्ड टेक्नोलोजीबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक (बि–टेक)सम्मको अध्ययन पूरा गरेका छन्।

सन् २०१८ मा स्नातकसम्मको पढाइ सकेपछि राजेशले विश्वविद्यालयकै सिफारिसमा मासिक ५२ हजार भारु पाउनेगरी चण्डिगढको एउटा कम्पनीमा काम सुरु गरिसकेका थिए। तर जनकपुरस्थित घरमा रहेकी आमा ‘थ्रोट’ क्यान्सरबाट सिकिस्त भएपछि ३ महिनामै जागिर छाड्नुपरेको उनले सुनाए।

‘स्नातक सकिएपछि काम सुरु गरिसकेको थिएँ, तर तीन महिनामै छाडेर नेपाल आउनुपर्यो। त्यसपछिको सम्पूर्ण समय आमाको उपचारमा खर्चिए। एक वर्ष त दिल्लीस्थित एम्स अस्पताल धाउँदै बित्यो। त्यसक्रममा करिब २५–३० लाख खर्च भयो। त्यसयता हामी सबैको योजना भताभुङ्ग भयो’, उनले दुःख पोखे।

हुँदाखाँदाको जागिर छाडेर नेपाल आएका राजेशको जीवनमा एक समय यस्तो आयो कि कसैले लाखौँ तलब दिन्छुभन्दा पनि काम गर्ने अवस्था रहेन। किनकि घरको काम उहाँले नै गर्नुपर्ने भयो। यहीबीचमा साढे चार वर्षअघि बुवाको मृत्यु भयो।

‘बुवा बितेपछि आमाको सम्पूर्ण सहारा गुम्यो, हाम्रो भरोसा। त्यसपछि आमालाई एक्लै छाड्ने अवस्था रहेन। जागिरको अवसर पाएका बेला घरायसी समस्याले घेर्यो। आमालाई ठिक भएपछि सँगै बसेर केही गर्न पाए हुन्थ्यो भनेर जनकपुरमै धेरै प्रयास गरेँ, धेरैलाई गुहारे तर जागिर पाइँएन’, उनले भने।

नेपाल टेलिकमको जागिरबाट अवकाशप्राप्त बुवाको पेन्सनबाट घरव्यवहार चलाइरहेको बताउने राजेशले आफ्नो शिक्षा र ज्ञान प्रयोग गर्नुपर्छ भन्ने योजना नबनाएका पनि होइनन् तर आर्थिक अभावले पूरा गर्न सकेनन्। ‘जागिर पाइएन। खर्च बढ्दै गयो तर आम्दानी छैन’, एकछिन निःशब्द हुँदै उनले भने, ‘श्रमको मूल्य पाउने जागिर नै पाइँएन। दश–बाह्र हजारमा काम गर्न सकिएन।’

नेपालमा विकल्प नभएपछि उनले विदेशिने निधो गरे। त्यसबेला स्वास्थ्य बाधक बन्यो। राजेशले दुबईमा साइबर सेक्युरिटीका क्षेत्रमा काम गर्न एउटा कम्पनीमा विभिन्न चरण पार गरेँ। तर मेडिकल परीक्षण गर्दा रगतमा सङ्क्रमण देखिएपछि त्यहाँ पनि जान पाएनन्। अहिले औषधि सेवन गरिरहेको उनले बताए।

सामान्य मध्यमवर्गीय परिवारका उनले ‘प्लस टु साइन्स’ आफ्नै लगानीमा पढे पनि बि–टेकचाहिँ छात्रवृत्तिमा पढेका हुन्। उनीमात्रै होइन उनका दाजुले पनि बायोटेक्नोलोजीमा स्नातकोत्तर (एमटेक) सम्मको अध्ययन भारतबाट र चीनबाट विद्यावारिधि गरेका छन्। लकडाउनको समयमा अध्ययन सकेर नेपाल फर्किएका उनी पनि पारिवारिक समस्याकै कारण घरमै अल्झिरहनुपरेको भाइ राजेशले जानकारी दिए।

आठ हजार तिर्नुपर्ने भएपछि…

आमालाई क्यान्सर भयो। त्यहीबीचमा बुवा बिते। परिवारको लय बिथोलियो, राजेश दाजुभाइको सपना र योजना। जागिरका लागि गरिएका प्रयास सफल भएनन्। भएको सीप प्रयोग गरेर केही गरौँ भन्ने सोचमा पुँजी बाधक बन्यो। ‘सबै प्रयास असफल भएपछि अहिले चिया पसल चलाइरहेको छु। एक लाख ऋण काढेर यो व्यवसाय सुरु गरेको पनि तीन महिना भयो। ठूलो चोट, सिकाइ र विवशतापछिको प्रतिफल हो’, उनले मलिन मुद्रामा भने।

यो व्यापार पनि एउटा पसलमा आठ हजार उधारो तिर्नुपर्दाको सकसपछि जन्मिएको हो। चियाका अम्मली राजेशले गएको दसैँ तिहारकै समयमा उधारो खाने गरेको चियापसलेलाई आठ हजार तीन सय तिर्नुपर्ने भयो। अनुमानभन्दा बढी पैसा तिर्नुपरेपछि त्यसै दिन चिया छोड्ने वा आफैँ चियापसल खोल्ने सङ्कल्प लिएको राजेशको कथन छ।

उनले भने, ‘त्यहीँ घटनापछि चियापसल खोल्ने निर्णयमा पुगेँ। एकातिर अरुलाई तिर्नुपर्ने चियाको पैसा जोगिने अर्कोतिर समयको सदुपयोग र दुई पैसा आम्दानी पनि हुने। त्यसपछि चियापसल सुरु गरेको हुँ।’ राजेशले पसलको नाम ‘इन्जिनियर क्याफे’ राख्ने निधो गरेर बोर्ड बनाउन दिएका छन्। उनी विभिन्न प्रकारका चिया, कफी बनाउने सोचका साथ बजार अध्ययन गरिरहेको र अब यहीँ व्यवसायलाई व्यवस्थित बनाउने योजनामा छन्।

‘सुरुमा पढियो एउटा गरियो अर्कै भनेर निराश हुन्थे तर अहिलेचाहिँ कुनै पछुतो छैन। देशको अवस्था, विदेशिएका युवाको पीडाका साथै पसलमा आउनेहरूले दिने प्रतिक्रियाबाट पनि उत्साहित भइरहेको छु। आगामी दिनमा के–के हुन्छ हेर्दै जाऔँ’, उनले भने।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्रकुमार महासेठ पनि एउटा शिक्षित र प्राविधिक शिक्षा पढेको युवाले रोजगारी नपाउनु चिन्ताको विषय भए पनि राजेशले रोजेको बाटोबाट आम युवाका लागि प्रेरणाको ठूलो सन्देश प्रवाह भएकामा खुसी व्यक्त गर्नुभयो । “देशमा कुनै पनि क्षेत्र र मान्छे उत्साहित छैनन् । युवाहरू विदेश धाइरहेका छन् । यो भीडमा एउटा शिक्षित युवाले चियापसल खोल्ने आँट गर्नु राम्रो कुरा हो । यसबाट अरुले पनि पाठ सिक्न जरुरी छ”, उहाँले भन्नुभयो ।

प्रकाशित: २०८० फाल्गुण १ गते मङ्गलबार ०९:२५
प्रतिक्रिया

थप समाचार

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना