काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पतालको फोहोर नउठाउने भएको छ। महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा अस्पतालको फोहोर व्यवस्थापन अनुगमन गर्दा वर्गीकरण र ढुवानीको पूर्वतयारीमा कमजोरी देखिएपछि फोहोर नउठाउने निर्णय लिइएको महानगरले जानकारी दिएको हो।
‘अरुलाई नमूना भएर देखाउनु पर्ने अस्पतालहरु आफैँले कमजोरी गरेको देखियो। अस्पतालमा फोहोर छुट्याउन बाल्टिन राखिएको देखियो तर हरेक बाल्टिनमा सबै खालको फोहोर मिसाइएको थियो। यो गलत प्रक्रिया हो,’ उपप्रमुख डंगोलले भनिन्, ‘रोग उपचार गर्न आउने ठाउँ नै रोग उत्पादन स्थल बन्नु हुँदैन। यसलाई व्यवस्थापन गर्ने दायित्व महानगरपालिका एक्लैको होइन, अस्पतालहरुले आफूलाई स्वच्छ र स्वस्थ्य सेवा प्रवाह भएको प्रमाणित गराउनु पर्छ।’
हानीकारक फोहोर अस्पतालबाहिर आउने खतरा देखिएपछि अस्पतालको फोहोर संकलन र ढुवानीमा रोक लगाउनु पर्ने अवस्था आएको डंगोलको भनाइ छ।
‘स्रोतमा फोहोर छुट्टिएको, हानीकारक फोहोरलाई निर्मलीकरण गरिएको, निर्मलीकरण भएपछिको फोहोर पनि पुन प्रयोग हुन सक्ने र नसक्ने प्रकृतिमा छुट्टिएको एकिन नहुञ्जेल फोहोर उठाउँदैनौँ, ’ वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले उल्लेख गरे।
अस्पतालले हानीकारक फोहोर निर्मलीकरण गर्नका लागि उपकरण जडान गरेको छ। यसको प्रभावकारी उपयोगका लागि स्रोतबाट वर्गीकरण प्रभावकारी बनाउन टोलीले सुझाव दिएको छ।
आज नै महाराजगञ्जमा भएको इन्टरनेशनल फ्रेन्डसिप चिल्ड्रेन हस्पिटलमा पनि फोहोर व्यवस्थापन अनुगमन भएको छ। अस्पतालमा हानीकारक फोहोर निर्मलीकरणका लागि राखिएको अटोक्लेभ मेसिन सञ्चालन भएको भएको नपाइएको श्रेष्ठले जानकारी दिए।
अनुगमन टोलीले अस्पताललाई वर्गीकरण भएको फोहोर प्रकृतिअनुसार व्यवस्थापन गर्न निर्देशन दिएको छ।


