काठमाडौँ- मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटको चारवटै क्वार्टरफाइनल खेल बुधबार खेलिँदैछ। प्रतियोगिताको क्वार्टरफाइनलमा आज नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दै छ। नेपाल र कुवेतबिचको खेल बिहान ११ः१५ बजे सुरु हुनेछ।
अन्य क्वार्टरफाइनलमा हङ्कङले थाइल्यान्डको, इन्डोनेसियाले संयुक्त अरब इमिरेट्स (यूएई) को र आयोजक मलेसियाले जापानको सामना गर्नेछन्। नेपाली टोली प्रारम्भिक चरणमा तीनवटै खेल जित्दै समूह ‘डी’ को विजेताका रूपमा क्वार्टरफाइनलमा पुगेको हो।
नेपालकै समूहबाट उपविजेता बन्दै हङ्कङ क्वार्टरफाइनलमा प्रवेश गरेको हो। नेपालले आफ्नो पहिलो खेलमा हङ्कङलाई आठ विकेटले हराएको थियो। दोस्रो खेलमा नेपालले भुटानलाई पनि आठ विकेटले पराजित गरेको थियो।
यसैगरी नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्समाथि दुई सय १४ रनको कीर्तिमानी जित हासिल गरेको थियो। नेपालले अन्तर्राष्ट्रिय महिला टी–२० क्रिकेटमा कुनै पनि टोलीविरुद्ध हासिल गरेको यो सबैभन्दा ठुलो रनअन्तरको जित हो।
नेपालका लागि रुविना क्षेत्रीले शतक र पूजा महतोले अर्धशतक बनाइन्। रुविनाले अविजित एक सय १८ रन बनाएकी थिइन्। उनी अन्तर्राष्ट्रिय टी–२० महिला क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी पनि बनेकी छन्।
यसका अतिरिक्त रुविना अन्तर्राष्ट्रिय महिला टी–२० क्रिकेटको एउटै खेलमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी पनि बनेकी छन्। यसअघि ओमानविरुद्धको खेलमा यूएईकी एसा ओजाले अविजित एक सय १४ रन बनाएकी थिइन्।
जारी प्रतियोगितामा हालसम्म तीन खेलाडीले शतक बनाएका छन्। नेपालकी रुविना क्षेत्री र यूएईकी एसा एसा ओजाका अतिरिक्त हङ्कङकी मारिको हिलले पनि अविजित एक सय रन बनाएकी छन्। प्रतियोगितामा हालसम्म सर्वाधिक रन बनाउने खेलाडी भने हङ्कङकी चान का यीङ् केरी हुन्। उनले प्रतियोगितामा तीन पाली खेल्दै कुल एक सय ७७ रन बनाएकी छन्।
माल्दिभ्सविरुद्ध पूजा महतोले पनि टोलीका लागि अविजित ५९ रनको योगदान गरेकी थिइन्। पूजाले केवल ३६ बलको सामना गरी एक छक्का र पाँच चौका हिर्काइन्। अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा पूजाको यो पहिलो अर्धशतक हो।
यसैगरी जारी प्रतियोगितामा हालसम्म सर्वाधिक विकेट लिने बलर इन्डोनेसियाकी नी वान सारियानी, थाइल्यान्डकी चानिदा सुथारिरुङ, मलेसियाकी माहिरा इजाती ईस्माइल र चीनकी लिउ मेङ्तिन हुन्। उनीहरूले ६–६ विकेट लिएका छन्।
एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले महिला प्रिमियर कप पहिलो पटक आयोजना गरेको हो । यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा सहभागिता जनाउन पाउने छ । एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन् ।
फेब्रुअरी १८ तारिखसम्म सञ्चालन हुने महिला प्रिमियर कपमा कुल १६ वटा राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगिताको सेमिफाइनल खेल फेब्रुअरी १६ र फाइनल खेल फेब्रुअरी १८ तारिखमा हुनेछ ।


