काठमाडौं- सरकारले आगामी वर्ष शनिवारबाहेक ३० दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
विभिन्न पर्व दिवस तथा जन्म जयन्तीका अवसरमा ३० दिन दिने निर्णय भएको गृह मन्त्रालयले जानकारी दिएको छ। प्रत्येक शनिबार दिइने सार्वजनिक बिदा यथावत् छ।
बिदासूची अनुसार मुलुकभरि सार्वजनिक बिदा हुने पर्वमा नववर्ष अर्थात् वैशाख १ गते रहेको छ। उक्त दिन भने शनिबार परेको छ।
त्यसपछि वैशाख पाँच गते राम नवमी र जेठ १० गते चण्डी पूर्णिमा, बुद्ध जयन्ती, राई, लिम्बु, याक्खा, सुनुवारलगायतका किराँत समुदायको उभौली पर्वको सार्वजनिक बिदा छ।
भदौ तीन गते रक्षाबन्धनको, भदौ १० गते श्रीकृष्ण जन्माष्टमीको र असोज १७ गते घटस्थापनाको सार्वजनिक बिदा रहेको छ ।
दशैं बिदा र तिहार बिदा पाँच–पाँच दिन
आगामी वर्ष २०८० मा असोज २४ गते फूलपातीदेखि देखि २८ गते द्वादशीसम्म पाँच दिन दशैं बिदा रहेको छ।
कात्तिक १५ गते लक्ष्मीपूजादेखि १९ गतेसम्म पाँच दिन तिहार बिदा रहेको छ। यी दुवै बिदाको बीचमा एक-एक दिन शनिवार परेको छ।
यस्तै कात्तिक ११ गते छठ पर्व, मंसिर ३० गते धान्य पूर्णिमा अर्थात् किरात समुदायको उधौली पर्व, योमरी पुन्हि (ज्यापु दिवस), पुस १० गते इसाई धर्मावलम्बीको पर्व क्रिमस डे, पुस १५ गते तमु ल्होसार, माघ १ गते माघी पर्व अर्थात् माघे सङ्क्रान्ति, माघ १७ गते सोनाम ल्होसार, फागुन १४ गते महाशिवरात्रि, फागुन १६ गते हिमावली आदिवासी शेर्पाले मनाउने ग्याल्पो ल्होसारको सार्वजनिक बिदा रहेको छ।
यस्तै इस्लाम धर्मावलम्बीको पर्व इद (इद उल फित्र)को दिन, इस्लाम धर्मावलम्बीको पर्व बकर ईद (इद उल अजहा), फागुन २९ गते हिमाली र पहाडी जिल्ला लगायतका ५६ जिल्लामा र चैत १ गते तराईका जिल्लामा फागु पूर्णिमाको सार्वजनिक बिदा रहेको छ।


