इलाम- गायक प्रमोद खरेलको कन्सर्टमा ठेलमठेल हुँदा घाइते भएका तीन जनालाई उपचारका लागि विर्तामोड रिफर गरिएको छ। महोत्सवमा थप केही व्यक्ति भएपनि इलाममा उपचार हुन नसकेका तीन जनालाई विर्तामोड पठाइएको प्रहरीले जानकारी दिएको हो।
जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलीप घिमिरेका अनुसार गेटबाट भित्र पस्ने क्रममा ठेलमठाल भएको थियो।
‘तीन जना घाइते भएकालाई विर्तामोड पठाइएको छ। अरु अवस्था सामान्य छ,’ उपरीक्षक घिमिरेले भने, ‘घाइतेको नामवली खुलेको छैन। सानो स्थानमा ठूलो संख्याका व्यक्ति एकै पटक प्रवेश गर्न खोज्दा ठेलमठेल भएको थियो। त्यसैमा परी उनीहरू घाइते भएका हुन्।’
शुक्रबार नयाँ वर्ष पनि परेको र गायक खरेलको कन्सर्ट पनि राखिएकाले ठूलो संख्यामा समर्थकहरू कन्सर्टस्थल पुगेका थिए। तर सानो ठाउँ र फितलो व्यवस्थापन हुँदा भागदौड र ठेलमठेल भएको थियो।
सामान्य घाइतेलाई स्थानीय इलाम अस्पतालमा उपचार गरिएको छ। यसअघि धनकुटा महोत्सवमा पनि गायक प्रमोद खरेलको कन्सर्ट हेर्न पुगेकाहरू अनियन्त्रित भीडमा परी केही व्यक्ति घाइते भएका थिए।
