बुटवल- बचतकर्ताको सवा एक अर्ब रूपैयाँ हाराहारी रकम हिनामिना गरेको बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश गुरुङ पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बचतकर्ताहरूको उजुरीपछि सहकारीका अध्यक्ष गुरूङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाईं पाण्डेयलाई प्रहरीले पक्राउ गरेको हो।
रूपन्देही लगायत आसपासका जिल्लाका १० हजार ३९१ जना बचतकर्ताको १ अर्ब ७ करोड ८२ लाख रूपैयाँ हिनामिना गरेको आरोप छ।
विगत एक वर्षदेखि संस्थाका संस्थापक अध्यक्ष एवं संरक्षक गितेन्द्र बहादुर (जिबी) राई भने सम्पर्कविहीन छन्।
सहकारीले राई अध्यक्ष तथा सञ्चालक रहेका विभिन्न पाँचवटा कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६६५ रूपैयाँ ऋण दिएको थियो।
राईले आफूआबद्ध रहेको गोरखा मिडिया नेटवर्क प्रालि (ग्यालेक्सी टीभी) विभिन्न मितिमा १२ करोड १४ लाख लगानी गरेका छन्।
उनले थुप्रै कम्पनीमा अवैधानिक तवरबाट बचतकर्ताको पैसा लगानी गरेका छन्।
