काठमाडौँ- शुक्रबार नयाँ वर्षको दिन नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनको घरमा गोली चल्यो। रोल्पाबाट आएर काठमाडौंको बालुवाटारमा बसोबास गर्दै आएका नेता पुन उपचारका लागि चीन गएका बेला घरमा गोली चलेको थियो। घरमा नेता पुनकी आमासहित परिवारका अन्य सदस्य पनि थिए।
नेता पुनको घरमा कसरी हतियार पुग्यो त?
प्रहरीका अनुसार गोली चलाउने व्यक्ति नेपाल प्रहरीकै एक जना सदस्य हुन्। बालुवाटार सरकारी निवासमा बस्ने एक जना भीआईपीको सुरक्षाका लागि उनलाई खटाइएको थियो। शुक्रबार पनि ड्युटी सकेर उनी फर्किएका थिए।
शुक्रबार नयाँ वर्ष पनि भएकाले उनी ड्युटी सकेर सोझै आफू बस्ने घर गएनन्। बरु माओवादी नेता पुनको घरमा नयाँ वर्ष मनाउने कार्यक्रममा सहभागी भए। त्यहाँ जानका लागि उनलाई निम्ता पनि भएको बताइएको छ।
नयाँ वर्षको कार्यक्रममा सहभागीले मदिरा पनि सेवन गरेका थिए। भीआईपीको सुरक्षामा खटिने व्यक्तिले साथमै हतियार राख्न पाउने व्यवस्था छ। त्यही अनुसार उनले साथमै पेस्तोल राखेका थिए। तर मदिरा सेवनकै क्रममा ती प्रहरी र उपस्थित अन्यबीच विवाद भएको थियो।
विवादका क्रममा ती व्यक्तिले आफूँसँग भएको पेस्तोल निकालेर गोली चलाएका थिए। उनले चलाएको गोलीबाट वर्षमान पुनकी आमा घाइते भइन्। शुक्रबार राति साढे ९ बजे आफ्नै घरमा पाहुना बनेर आएका आफन्त/प्रहरीले चलाएको गोली नेता पुनकी ७४ वर्षीया आमा तीर्थमालीको खुट्टामा पुग्यो। घाइते तीर्थमालीलाई ट्रमा सेन्टरमा उपचार गर्न लगिएको छ। उनको अवस्था खतरामुक्त रहेको बताइएको छ।
घटना साढे ९ तिरकै भएपनि प्रहरीले भने राती १ बजेतिर मात्र थाहा पाएको थियो। गोली चलेको थाहा पाएपछि प्रहरीले उनको खोजी गरेको थियो। राति नै उनी प्रहरीको नियन्त्रणमा पुगे। गोली चलाउने व्यक्तिमाथि अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ।


