खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काठमाडौँमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०८०’ सुरु गरेको छ।
स्वदेशी तथा विदेशी चित्रकारलाई सहभागी गराएर गत असोज १७ देखि २१ गतेसम्म दिक्तेलमा आयोजित ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी–२०८०’मा कोरिएका २ सय एकवटा क्यानभास चित्रलाई नगरपालिकाले आजदेखि काठमाडौँको नेपाल कला परिषद् बबरमहलमा प्रदर्शनी सुरु गरेको हो।
प्रदर्शनी आगामी फागुन १७ गतेसम्म जारी रहने छ। चित्रकला प्रदर्शनीको औपचारिक उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका छन्।
संसारभर छरिएर रहेका खोटाङ्गे मनलाई एउटै थलोमा जोड्ने र चित्रकलाको माध्यमबाट खोटाङ र सिङ्गो नेपाललाई विश्वमाझ परिचय गराउँदै पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिमा जोड्ने लक्ष्यका साथ धनु आर्ट स्टुडियोसँगको सहकार्यमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ कार्यक्रम आयोजना गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए। ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’लाई दिक्तेलमा आयोजना गरिएको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी’कै अर्को शृङ्खलाको रूपमा आयोजना गरिएको छ।
‘प्रदर्शनमा राखिएका चित्रलाई पुनः दिक्तेलमा लगेर सङ्ग्रहालय बनाएर राख्ने योजना बनाइएको छ’, उनले भने, ‘संसारभर छरिएर रहेका खोटाङ्गे मनलाई एउटै थलोमा जोड्ने काम गरेको छ। चित्रकलाको माध्यमबाट खोटाङ र सिङ्गो नेपाललाई विश्वमाझ परिचित गराउन सफल भएका छौँ।’
प्रदर्शनीमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रमले नगरपालिकालाई मात्र नभई सिङ्गो खोटाङलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराएको बताए।
दिक्तेलको मझुवागढी, भवनगैरा, हाटडाँडा, शङ्खधर साख्वाचोक र शुभम् फाउण्डेसनमा पुगेर उतारेका क्यानभास चित्रलाई प्रदर्शनमा राखिएको छ। दिक्तेलमा आयोजना गरिएको चित्रकला कार्यशाला तथा प्रदर्शनीमा सहभागी नेपालसहित अष्ट्रेलिया, बङ्गलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका चित्रकारसहित विभिन्न ५० देशका ख्यातिप्राप्त चित्रकारले क्यानभासमा उतारेका चित्रलाई प्रदर्शनमा राखिएको हो।


