काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई सांगठनिक प्रतिवेदन सच्याउन दबाब दिएका छन्।
देउवा निवास बुढानीलकण्ठमा भएको छलफलमा महामन्त्री थापालाई सांगठनिक प्रतिवेदनका केही विषय हेरफेर गर्न दबाब सिर्जना गरेका हुन्।
बैठकमा सांगठनिक प्रतिवेदनका विषयमा छलफल भएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए।
थापाले आगामी निर्वाचनमा गठबन्धन नगर्ने संकल्प महासमितिको बैठकबाट पारित गर्न प्रस्ताव गरेका छन्। तर, सभापति देउवासहित संस्थापन पक्षका नेताहरू निर्वाचन रणनीतिक हुने भएकाले अहिले घोषणा गरेर जान नहुने पक्षमा छन्।
तर थापाले भने आफूले फरक मत ल्याउने चेतावनी दिएका थिए। साझा प्रस्ताव ल्याउने विषयमा छलफल भइरहेको उनको विश्वकर्माको छ।
महामन्त्री थापासहित डा. शेखर कोइरालासहित इतर पक्षका नेताहरू चुनावमा गठबन्धन गर्न नहुने पक्षमा छन्। गएको निर्वाचनमा पनि उनीहरू गठबन्धनको विपक्षमा उभिएका थिए।
उता कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले चुनावमा गठबन्धन नगर्ने प्रस्ताव प्रतिवेदनबाट हटाउन दबाब दिने कार्य आम कार्यकर्ताको भावना विपरीत भएको बताएका छन्।
महामन्त्री गगन थापाले तयार पारेको प्रतिवेदनबाट चुनावमा गठबन्धन नगर्ने प्रस्ताव हटाउने सभापति शेरबहादुर देउवाले दबाब दिएपछि उनले यस्तो बताएका हुन्। नेता शिवाकोटी महामन्त्री थापा निकट मानिन्छन्।
‘महासमिति बैठकमा पेस हुने प्रतिवेदनमा प्रस्तावित आउने चुनावदेखि कांग्रेसका शुभेच्छुकहरू र कार्यकर्ताले रुख चिन्हमै मत हाल्न पाउने व्यवस्थालाई पेचिलो बनाएर त्यसलाई प्रतिवेदनबाट हटाउन दबाब दिने कार्य आम कार्यकर्ता र शुभेच्छुकको भावनाविपरीत छ। आउनुस् एकपटक फेरि कांग्रेसका शुभेच्छुकहरू र कार्यकर्तालाई रुख चिन्हमै मत हाल्न पाउने व्यवस्थाका लागि महासमितिमा आवाज बुलन्द गरौं। महासमिति बैठकलाई पूर्ण सफल पारौं।’


