मोरङ- मोरङमा लरीले किचिएर तीन बालबालिकाको मृत्यु भएको छ।
भारतबाट आएको आरजे २९ जीबी १५६१ नम्बरको लरी मोरङको बुढीगंगास्थित नेमुवामा शुक्रबार बिहान पल्टिएको थियो।
नहरको किनारैकिनार आइरहेको लरी पल्टिर किचिँदा तीन बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए।
लरी पल्टिँदा ज्योति कार्की र तीन बालबालिका च्यापिएका थिए। ज्योतिको जीवितै उद्धार गरिए पनि बालबालिकालाई बचाउन नसकिएको एसपी कार्कीले बताए।
‘घरमूलीको खुट्टा मात्रै च्यापिएको थियो, जीवितै उद्धार गरेका छौं,’ उनले भने, ‘ठूलठूला मार्बलले च्यापिएकाले बालबालिकाको ज्यान गएको छ।’
एसपी कार्कीका अनुसार घाइते ज्योतिका जुम्ल्याहा छोराछोरीको मृत्यु भएको छ। दुवै पाँच वर्षका थिए। छिमेकबाट खेल्न आएकी सात वर्षीया रिमा खवासको पनि ज्यान गएको एसपी कार्कीले बताए।


