काठमाडौँ- कीर्तिपुरमा बालिका बलात्कारका अभियुक्त रोशनकुमार शर्मा कारागार चलान भएका छन्।
१३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा १९ वर्षीय किशोरलाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।
शर्मालाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको प्रहरी वृत्त, कीर्तिपुरले जानकारी दिएको छ।
पीडितकी आमाको जाहेरीका आधारमा प्रहरीले मुद्दा चलाएको थियो। पीडित बालिकाकी आमाले दिएको जाहेरीमा बालिकामाथि ३ दिनसम्म पटकपटक बलात्कार गरेको उल्लेख छ।
रोशन साथीसँग कीर्तिपुरमा डेरा बस्दथे। उनका साथीमाथि पनि जबरजस्ती करणी उद्योगमा कानुनअनुसार कारबाही माग गर्दै ती बालिकाकी आमाले जाहेरी दिएकी थिइन्। तर, जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले पीडकका साथीमाथि भने मुद्दा नचलाउने निर्णय गरेको थियो।
प्रहरीका अनुसार शर्माविरुद्ध यसअघि जिल्ला अदालत, भक्तपुरमा समेत बलात्कार मुद्दा चलेको थियो।
पीडित किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा भक्तपुर जिल्ला अदालतले चार महिना कैद र ५ हजार रुपैयाँ जरिमाना गर्ने फैसला सुनाएको थियो।


