काठमाडौँ- काठमाडौँलाई तराईसँग जोड्ने सबैभन्दा छोटो सडक द्रुतमार्गमा बन्ने सुरुङको काम तीव्र गतिमा अघि बढेको नेपाली सेनाले जानकारी दिएको छ।
काठमाडौं–तराई द्रुत मार्ग अन्तर्गत निर्माण हुने ६ वटा सुरुङ मार्गमध्ये तीनवटा सुरुङको निर्माण जारी रहेको छ। यसरी समग्र सुरुङ मार्गको भौतिक प्रगति ६७.४३ प्रतिशत रहेको सेनाले बताएको छ। द्रुत मार्गका ३ वटै सुरुङमार्गको ठेक्का चिनियाँ कम्पनीले पाएर निर्माण कार्य तिव्र रुपमा गरिरहेको छ।
सेनाले निर्माण गर्ने जिम्मा लिएको यो आयोजनालाई १३ प्याकेजमा विभाजन गरी काम गरिरहेको छ। यीमध्ये सुरुबिन्दु खोकनामा सबैभन्दा बढी विवाद छ।
२०७४ जेष्ठ १४ गतेका दिन प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेका थिए। विदेशी कम्पनीलाई ठेक्का नदिई नेपाल सरकारले सेनालाई जिम्मा दिएको थियो।
ललितपुरको खोकनाबाट सुरु भई काठमाडौँ, मकवानपुर हुँदै बारा जोडिने गरी सडक ७६.२ किमी रहने भनिएकोमा यसको डीपीआरमा परिवर्तन गरी ७२ किमी लामो सडक बनाउने तयारी सेनाको छ। द्रुत मार्ग निर्माणपछि निजगढदेखि काठमाडौँसम्मको दूरी जम्मा एक घण्टामा पूरा हुनेछ।
सेनाले २०८१ मंसिरभित्र काम सकिसक्नुपर्ने भएपनि उक्त अवधिमा काम नसकिने भएपछि २०८३ चैतसम्म म्याद थप गरिएको छ।
आयोजनाको अनुमानित बजेट १ खर्ब ७५ अर्ब रुपैयाँ भएपनि म्याद थपसँगै लागत पनि २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ पुर्याइएको छ। आयोजनाको वित्तीय प्रगति ३१.५७ प्रतिशत छ भने भौतिक प्रगति करिब ३१ प्रतिशत भएको नेपाली सेनाले बताएको छ।

















